कृष्णभीरको बाटो खुल्दा एलपी ग्यासको मूल्य घट्यो
काठमाडौँ, १ असाेज । कृष्णभीर क्षेत्रमा बाटो अवरुद्ध भएपछि बढेको खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ।
बाढीका कारण मुख्य राजमार्ग बन्द हुँदा वैकल्पिक बाटो प्रयोग गरेर ग्यास आयात गर्दा ढुवानी भाडा बढेको भन्दै व्यवसायीहरूले ग्यासको मूल्य वृद्धि गरेका थिए। अहिले कृष्णभीरमा बाटो पुनः सञ्चालनमा आएसँगै ग्यासको मूल्य पनि घटेको हो।
नेपाल एलपी ग्यास उद्योग सङ्घका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार नेपाल आयल निगमले काठमाडौंका लागि पिएडओ जारी गरेसँगै ग्यासको मूल्य घटेको हो।
“यसअघि मुख्य बाटो बन्द भएर वैकल्पिक बाटोबाट ढुवानी गर्दा भाडा बढेकाले ग्यासको मूल्य वृद्धि भएको थियो,” घिमिरेले भने, “अहिले कृष्णभीरको बाटो खुलेर ग्यासका बुलेटहरू आउन थालेपछि मूल्य पुनः घटेको छ।”
यसअघि लामो र वैकल्पिक बाटो प्रयोग गरी ढुवानी गर्दा प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसासम्म भाडा समायोजन भई मूल्य वृद्धि भएको थियो। तर व्यापारीहरूले अत्यधिक भाडा बढाएर ग्राहक हैरानी बनेका थिए । अब भने पुरानै मूल्य २०६० रुपैयाँ प्रतिसिलिन्डर पर्नेछ।
देशलाई तीन क्षेत्रमा विभाजन गरी ग्यास वितरण गरिँदै आइएकोमा हालसम्म तराई क्षेत्रको पिएडओबाट मात्र काम भइरहेको थियो। अब भने काठमाडौँ र धादिङका लागि पनि पिएडओ जारी भएको छ।
नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले काठमाडौँ उपत्यकाका लागि ग्यास ल्याउन पिएडओ जारी भइसकेको जानकारी दिएका छन्। पिएडओ जारी भएसँगै अब उपभोक्ताले पुरानै मूल्यमा ग्यास पाउनेछन्।
