महिला साफ च्याम्पियनसीप आजबाट सुरुहुँदै, उद्घाटन खेल नेपाल र भुटानबीच हुने

काठमाडौं : महिला साफ च्याम्पियनसीप छैटौं संस्करणको खेल आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने भएकोछ । साफ च्याम्पियनसीपमा आयोजक टिम नेपालसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भुटान गरी सात राष्ट्र सहभागी छन् ।

यसलाई दुई समूह ए र बी मा विभाजन गरिएको छ । नेपाल समूह बी मा परेको छ । नेपालको समूहमा श्रीलङ्का र भुटान छन् । समूह ए मा भने भारत, बङ्गलादेश र माल्दिभ्स छन् । समूह चरणको दोस्रो खेलमा नेपालले श्रीलङ्कासँग खेल्नेछ । यस खेल भने भदौ २७ गते हुनेछ ।

आजको उद्घाटन खेल नेपाल र भुटानबीच साँझ ५ः३० बजे हुनेछ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक कुमार थापाले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने र पहिला लिग चरणमा नै आफ्नो टोलीको ध्यान केन्द्रित रहने बताउनुभयो ।

नेपालले हालसम्म साफ च्यापियनसीपको उपाधि जित्न सकेको छैन ।

नेपाली टोलीमा एन्जिला तुम्बापो सुब्बा (कप्तान), अन्जना राना मगर, उषा नाथ, हीराकुमारी भुजेल, अमृता जैसी (उपकप्तान), गीता राना, पुनम जर्घा मगर, निशा थोकर, समीक्षा घिमिरे, विमला विक र विमला चौधरी छन् ।

यसैगरी टोलीमा मञ्जलीकुमारी योञ्जन, प्रिती राई, सरु लिम्बू, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत, अनिता केसी, अमिशा कार्की, रेखाकुमारी पौडेल, सावित्रा भण्डारी र रश्मीकुमारी घिसिङ छन् ।