निर्वाचन आयोगद्वारा स्थिर समयअगावै सामाजिक सञ्जालमा पोस्ट गरेका प्रचार सामग्री हटाउन निर्देशन, नहटाए कानुन बमाेजिम कारबाही हुने ।

काठमाडौं, १ मंसिर । निर्वाचन आयोगद्वारा स्थिर समयअगावै सामाजिक सञ्जालमा पोस्ट गरेका निर्वाचन प्रचार सामग्री आज ( मंसिर १ गते ) रातकाे १२ बजेसम्म हटाउन निर्देशन दिएको छ।

आयोगले सामाजिक सञ्जालमा पोस्ट भएका, गरेका निर्वाचन प्रचारप्रसारसम्बन्धी सामग्री मंसिर १ गते राति १२ बजेसम्म हटाइसक्न राजनीतिक दल तथा उम्मेदवारहरूलाई निर्देशन दिएको हो।

निर्वाचन आयोगका अनुसार निर्वाचन आचारसंहिताबमोजिम स्थिर समय सुरु हुनुभन्दा ४८ घण्टा अगाडीबाट राजनीतिक दल र उम्मेदवारले कुनै पनि तरिकाबाट निर्वाचन प्रचारप्रसार गर्न पाउने छैन।

आयोगले मंसिर १ गते राति १२ बजेबाट कुनै पनि राजनीतिक दल तथा उम्मेदवारले सामाजिक सञ्जाल तथा अनलाइन प्रयोग गरेर उम्मेदवारको पक्ष र विपक्षमा मत माग्न नपाउने पनि बताए।

आयोगका सहप्रवक्ता कमल भट्टराईले स्थिर समय सुरु हुनुपूर्व पोस्ट गरिएका निर्वाचन प्रचारप्रसार सामग्री सम्बन्धित सामाजिक सञ्जाल तथा अनलाइनबाट हटाउनुपर्ने बताए।

उनले उम्मेदवार तथा राजनीतिक दलले आयोगको निर्देशन अटेर गरी सामाजिक सञ्जालबाट प्रचारप्रसार गरे वा प्रचारप्रसार सामग्री नहटाए निर्वाचन आयोग ऐनको दफा २३ र निर्वाचन आचारसंहिता २०७९ एवं निर्वाचन कसुर तथा सजाय ऐनबमोजिम आवश्यक कारबाही हुने पनि बताए।

निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूले सामाजिक सञ्जालमा पोस्ट गरेका निर्वाचनसम्बन्धी प्रचारप्रसारका सामग्री हटाए/नहटाएको अनुगमन गर्न निर्देशन दिने बताएको छ।