वामपन्थी शक्तिलाई एकजुट बनाउँदै एमाले नेतृत्वको सरकारमा जोड दिनुपर्छः एमाले उपमहासचिव गुरुङ

काठमाडौं, १६ मंसिर । नेकपा (एमाले) उपमहासचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले वामपन्थी शक्तिलाई एकजुट बनाउँदै एमालेले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउनका लागि पहलकदमी लिनुपर्ने बताउनु भएको छ । लमजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएकोमा उहाँलाई बधाई दिन प्रेस चौतारी नेपालले आज केन्द्रीय राजधानी काठमडौंमा आयोजना गरेको बधाई कार्यक्रममामा उहाँले यस्तो बताउनु भएको हो । मुलुकका लागि निकै महङ्गो सावित भएको सत्तारुढ दक्षिणपन्थी गठबन्धनलाई तोड्नु पर्नेमा पनि जोड दिनुभयो ।

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमै पुनः सरकार बन्ने कुप्रचारलाई तोडन आवश्यक रहेको उहाँको भनाई थियो । उिहाँले निर्वाचनबाट सोचेजस्तो परिणाम नआए पनि संघ र ७ वटै प्रदेशमा सरकार बनाउने एमालेको हैसियत कायम भएको उहाँको भनाई छ । ‘मुलुकमा प्राप्त उपलब्धिलाई रक्षा गर्नका लागि, मुलुकको स्वाधिनतामाथि धावा बोल्ने कामलाई रोक्नका लागि एमाले नेतृत्वमा सरकार बन्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘यो दक्षिणपन्थी गठबन्धनले मुलुकलाई बर्वादीतिर लैजान्छ, एमालेले यस्तो काम हुन दिनुहुन्न ।’

उहाँले एमाले अध्यक्ष केपी शर्मा ओली जस्तो भिजन भएको र काम गर्ने जाँगर अनि इमान्दारिता अरुसँग नभएको पनि दाबी गर्नुभयो । ‘नेकपा (एमाले) नेतृत्वको सरकार बनाउने काममा हामी लाग्नुपर्छ । अहिले अब प्रधानमन्त्री शेरबहादुर भनेर जोडतोडले दुष्प्रचार भइराखेको छ । प्रधानमन्त्री को होला, त्यो बेग्लै कुरा हो,’ उहाँले भन्नुभयो, ‘तर हामीले सकारात्मक सोच भएका शक्तिहरुबीच सरकार बनाउनुपर्छ ।’

एमाले उपमहासचिव गुरुङले चुनावमा आफूहरुले अपेक्षा गरेअनुसार परिणाम नआए पछि पराजित पनि नभएको बताउनुभयो । ‘एमालेले हारेको छैन, हामीले १५० भनेको थियौं । प्रत्यक्षमा ७१ देखि १ सय सिटको हाराहारीमा ल्याउन सकिन्छ भन्ने हाम्रो अपेक्षा थियो तर परिणाम तलमाथि भयो, यत्रो घेरावन्दीका बीच पनि यो परिणाम आयो, जितेका छौं भन्यो भने बहुमत आएन, हारेको पनि छैनौं, यो सच्चाइलाई आत्मसाथ गरेर मुलुक निर्माणको दिशा र आफ्ना कमीकमजोरीतर्फ पनि समिक्षा गर्न सकिन्छ,’ गुरुङले भन्नुभयो, ‘चुनावमा एमालेबिरुद्ध ठूलै षडयन्त्र भए पनि जनताको बलमा चिरेर अघि बढ्न सफल भयौँ ।’

कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा प्रचार बिभाग उपप्रमुख विष्णु रिजालले एमालेले जनताको मतका आधारमा परीक्षामा सफल भएको र प्रतिक्रियावादीको षडयन्त्र चकनाचुर पारेको बताउनुभयो । ‘एमाले हारेको छैन, परिणाममा केही तलमाथि मात्र भएको हो तर दुनियाँसामू एमालेलाई हराउन सक्ने ताकत छैन भन्ने प्रमाणित यो निर्वाचनले गरेको छ,’ रिजालले भन्नुभयो । कार्यक्रममा चौतारी अध्यक्ष गणेश बस्नेतलगायतले पनि सम्भवोधन गर्नुभएको थियो ।