एमालेसँग तालमेल तोडिएको यादवको अभिव्यक्तिले जसपा भित्रै हलचल

काठमाडौं, १९ मंसिर । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले चुनावका लागि नेकपा (एमाले) सँग गरिएको तालमेल अब सकियो भनी दिनुभएको अभिव्यक्तिले एमाले र स्वय्म जसपा भित्र पनि हलचल उत्पन्न गराइदिएको छ ।

हिजो विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले चुनावताका एमालेसँग गरिएको तालमेलको औचित्य अब सकिएको र सरकार गठनका लागि जोसँग पनि नयाँ तालमेल हुनसक्ने अभिव्यक्ति दिनुभएको थियो ।

उहाँको यो अभिव्यक्तिलाई एमालेले अवसरवादीको संज्ञा दिएको छ भने स्वयम् जसपाभित्रका अन्य नेताहरूले ‘नबुझिने भनाइ’ भनेका छन् ।

गएको चुनावताका सत्ता गठबन्धनसँग कुरा नमिलेपछि जसपाले एमालेसँग तालमेल गरेको थियो । त्यतिबेला दुई पार्टी बीच भएको २१ बुँदे सहमतिमा चुनाव पछि पनि गठबन्धन जारी नै रहने व्यहोरा उल्लेख गरिएको छ । तर चुनाव सकिएपछि भने त्यो गठबन्धनकै औचित्य समाप्त भएको भनी जसपा अध्यक्षबाट यस्तो अभिव्यक्ति आएपछि दुवै पार्टी अन्यौलग्रस्त हुन पुगेको हो ।

चुनावमा एमालेसँग तालमेल गरेका यादव पराजित भए पनि जसपाका अर्का वरिष्ठ नेता अशोक राई भने विजयी हुनुभएको थियो । राई एमालेकै पूर्व नेता हुनुहुन्छ ।

यादवको यो अभिव्यक्तिले आफ्नै वा आफ्नो समर्थनमा अरु कसैको नेतृत्वमा सरकार बनाउने एमालेको प्रयासलाई धक्का लाग्ने अनुमान गरिएको छ । त्यति मात्रै होइन, मधेस प्रदेशमा पनि सबैभन्दा ठूलो दल भएका एमालेलाई सरकार बनाउनबाट यसले रोक्न सक्ने आशंका गरिएको छ ।

अध्यक्ष यादवले केन्द्रमा जस्तो गठबन्धन बन्छ प्रदेशहरूमा पनि त्यही अनुरुपको गठबन्धनमा सामेल हुने समेत बताउनुभएको छ ।

उता जसपाका एक वरिष्ठ नेताले भने आफ्ना अध्यक्ष यादवको अभिव्यक्तिले पार्टीका अन्य पदाधिकारीहरूलाई पनि अचम्भित बनाएको बताउनुभएको छ । एमालेसँगको तालमेल तोड्नेबारे पार्टीभित्र कुनै छलफल समेत नभएको बताउँदै उहाँले शायद चुनाव हारेको झोंकमा अध्यक्षले यसो भन्नुभएको होला भन्ने अनुमान लगाउनुभयो ।

मंसिर ४ गतेको चुनावमा एमालेसँग तालमेल गरे पनि अध्यक्ष यादव जनमत पार्टीका अध्यक्ष सीके राउतसँग भारी मतको अन्तरबाट पराजित हुनुभएको थियो । चुनावमा एमालेसँग तालमेल गरेका यादव पराजित भए पनि जसपाका अर्का वरिष्ठ नेता अशोक राई भने विजयी हुनुभएको थियो । राई एमालेकै पूर्व नेता हुनुहुन्छ ।

एमालेसँगको तालमेल तोडिएपछि अब जसपा पुनः पुरानै सत्ता गठबन्धनमा फर्कला त ? यसबारे पनि जसपाका अन्य नेताहरू अन्यौलमा छन् । ‘मैत्री न्यूज’ लाई संक्षिप्त प्रतिक्रिया दिँदै जसपाका एक नेताले भन्नुभयो, ‘अब कुन मुखले गठबन्धनमा जाने ? कि चुनावमा एमालेसँग तालमेल गरेकोमा आत्मालोचना गर्नुप¥यो ।’

सत्ता गठबन्धनको बैठक आज बस्ने तय भएको छ । तर यसमा जसपालाई भने बोलाइएको छैन । जसपा अध्यक्ष यादवलाई पराजित गर्नुभएका सीके राउतको जनमत पार्टी भने सत्ता गठबन्धनमा जाने निश्चित भइसकेको छ । यदि सत्ता गठबन्धनमा जसपा पनि समावेश हुन गए भने सरकार बनाउन गठबन्धनलाई अझ सहज हुने देखिन्छ ।