चिकित्सा शिक्षा सङ्घर्ष अभियानद्वारा देशव्यापी आन्दोलन घोषणा, आजदेखि आवासीय र इन्टर्न चिकित्सकको पेनडाउन
काठमाडौँ, २७ साउन । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा व्याप्त विकृति र अनियमितताका विरुद्ध ‘चिकित्सा शिक्षा सङ्घर्ष अभियान’ ले देशव्यापी चरणबद्ध आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको छ।
निजी मेडिकल कलेजहरूले सिट र शुल्क वृद्धिको माग राख्दै आवासीय र इन्टर्न चिकित्सकहरूको नियमित पारिश्रमिक रोकेको विरोधमा यो आन्दोलन सुरु गरिएको हो। अभियानका अनुसार पहिलो चरणको आन्दोलनअन्तर्गत आज बुधबार दिउँसो १:०० बजेपछि देशभरका पीजी र इन्टर्न चिकित्सकहरूले पेनडाउन गर्नेछन्। कलेज सञ्चालकहरूले चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई आन्दोलनमा उत्रिन बाध्य पारेर राज्यमाथि गैरकानुनी र अवैधानिक दबाब सिर्जना गर्न खोजेको अभियानको ठहर छ।
अभियानका संयोजक मनिष भट्टराई, प्रवक्ता धनबहादुर तामाङ र महासचिव सौगात पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा अर्बौँको कारोबार गर्ने निजी मेडिकल कलेजहरूले नाफामा रहँदाहुँदै पनि घाटाको अपारदर्शी विवरण देखाएर श्रमिकहरूको शोषण गरिरहेको आरोप लगाइएको छ। एक वर्षे अनिवार्य सेवाका नाममा चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरू अत्यन्त न्यून पारिश्रमिकमा काम गर्न बाध्य भई अस्पतालभित्रै चरम श्रम शोषणको चपेटामा परेको विज्ञप्तिमा उल्लेख छ।
लाखौँ खर्च गरेर पढेका स्वास्थ्यकर्मीहरू न्यून पारिश्रमिक, बेरोजगारी र विदेश पलायनको समस्या झेलिरहँदा मेडिकल कलेजहरू भने केवल सिट र शुल्क वृद्धिकै मोलमोलाइमा सीमित हुनु विडम्बनापूर्ण रहेको अभियानको भनाइ छ।
निजी मेडिकल कलेजहरूलाई नियमन गर्ने निकायहरू प्रभावकारी र जबाफदेही बन्न नसक्दा प्रत्येक वर्ष यो समस्या दोहोरिने गरेको भन्दै अभियानले कलेजहरूको सञ्चालन अनुमति र सम्बन्धनबारे राज्यले गम्भीर समीक्षा गर्नुपर्ने माग गरेको छ। अभियानले देशभरका सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई यस आन्दोलनमा सक्रिय सहभागी हुन अपिल गर्दै यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सम्बन्धित निकायले नै लिनुपर्ने चेतावनी दिएको छ।