होर्मुज जलमार्गमा नाकाबन्दी उल्लङ्घन गर्न खोज्ने जहाजमाथि अमेरिकी सेनाको हवाई आक्रमण
एजेन्सी, २७ साउन । होर्मुज जलमार्ग (स्ट्रेट अफ होर्मुज) मा अमेरिकी नाकाबन्दी उल्लङ्घन गर्ने प्रयास गर्ने एक व्यावसायिक कार्गो जहाजमाथि अमेरिकी सेनाको हेलिकप्टरले मिसाइल प्रहार गरेको छ।
अमेरिकी सेनाको सेन्ट्रल कमान्डले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत दिएको जानकारीअनुसार अमेरिकी नौसेनाको एमएच–६० हेलिकप्टरले ‘एम/भी वेला नोभा’ नामक कार्गो जहाजमाथि मिसाइल प्रहार गरेको हो। अमेरिकी सेनाले बारम्बार जारी गरेको चेतावनीलाई बेवास्ता गर्दै जबर्जस्ती अगाडि बढ्ने प्रयास गरेपछि सो जहाजलाई रोक्न आक्रमण गरिएको सेन्टकमले स्पष्ट पारेको छ।
गत जुलाई १४ मा इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी पुनः स्थापना गरिएयता इरान विरुद्धको यस एक महिना लामो सैन्य द्वन्द्वमा अमेरिकाले बल प्रयोग गरी जहाज रोकेको यो तेस्रो पटक हो। सेन्टकमका अनुसार मङ्गलबारसम्म नाकाबन्दीको बेवास्ता गरी अगाडि बढ्न खोज्ने अन्य थुप्रै जहाजहरूलाई पुनः निर्देशित गरिएको छ।
यसअघि अमेरिकी सेनाले अप्रिल १३ देखि जुन १८ सम्म इरानी बन्दरगाहहरू अवरुद्ध गर्दा नौवटा कार्गो जहाजहरूलाई निष्क्रिय पारेको थियो भने १४० भन्दा बढी जहाजलाई पुनः निर्देशित गरेको थियो।
विश्व बजारमा तेल र ग्यास ढुवानीका लागि प्रमुख मार्गका रूपमा रहेको होर्मुज जलमार्ग पुनः खोल्नका लागि इरानले अमेरिकी नाकाबन्दी पूर्ण रूपमा अन्त्य हुनुपर्ने मागलाई मुख्य सर्तका रूपमा राख्दै आएको छ। अर्कोतर्फ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यस रणनीतिक जलमार्गमा संयुक्त राज्य अमेरिकाको नियन्त्रण रहेको दाबी गर्दै नाकाबन्दी जारी रहने अडान दोहोर्याउनुभएको छ।
