बाजुराको बडीमालिका मेला भदौ १ देखि सुरु हुने, व्यवस्थापनका लागि तयारी तीव्र

बाजुरा, २७ साउन । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बाजुराको बडीमालिका मन्दिरमा यस वर्षको विशेष मेला तथा पूजा भदौ १ गतेदेखि सुरु हुने भएको छ। भक्तजनको बढ्दो चापलाई दृष्टिगत गर्दै यस वर्ष मुख्य पूजाको दिनभन्दा अगावै मेला सुरु गर्ने निर्णय गरिएको हो।

जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाका अनुसार दर्शनार्थीको अत्यधिक भीडलाई सुरक्षित रूपमा व्यवस्थापन गर्न भदौ १ गतेदेखि नै पूजा आराधना खुला गर्ने सर्वपक्षीय निर्णय भएको हो। मन्दिरका पुजारी नेत्र पाध्यायले हरेक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन (चतुर्दशी) का दिन मुख्य पूजा हुने परम्परा रहेको जानकारी दिनुभयो। यस वर्ष भदौ १२ गते जनैपूर्णिमा परेकाले त्यसको अघिल्लो दिन बडीमालिकामा मुख्य पूजा हुनेछ।

गत वर्ष बडीमालिका मन्दिरमा करिब ४५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका थिए। यस क्षेत्रमा नेपालका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत उल्लेख्य सङ्ख्यामा दर्शनार्थीहरू आउने गर्छन्। बाजुरा, डोटी र जुम्लाबाट पूजा सामग्रीसहित सरकारी टोलीसमेत पुग्ने परम्परा रहेको छ। गत वर्ष नेपाली सेनाले प्यागोडा शैलीमा बडीमालिका माताको नयाँ मन्दिर निर्माण गरेपछि यस वर्ष दर्शनार्थीको सङ्ख्या थप बढ्ने स्थानीय चन्द्र थापाले बताउनुभयो।

बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्काले मेलालाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन विभिन्न १४ बुँदे निर्णयहरू गरी तयारी तीव्र पारिएको बताउनुभयो। मन्दिर जाने पैदल मार्गमा सङ्केत चिह्न, साइनबोर्ड तथा सूचनापाटीहरू राखिनेछन् भने धार्मिक क्षेत्रको पवित्रता कायम राख्न मदिरा, लागुपदार्थ र मासुजन्य वस्तुहरूको प्रयोग तथा बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

निमित्त जिल्ला समन्वय अधिकारी दिपेन्द्र पाण्डेका अनुसार समुद्री सतहबाट करिब ४ हजार २०० मिटर उचाइमा रहेको बडीमालिका क्षेत्रमा यात्रा गर्दा दर्शनार्थीहरूलाई लेक लाग्ने (हाई अल्टिच्युड) तथा अन्य स्वास्थ्य समस्या आउन सक्ने भएकाले आपत्कालीन स्वास्थ्य शिविर र उद्धार टोली तयारी अवस्थामा राखिनेछ। जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयको समन्वयमा नेपाली सेनाले प्राथमिक उपचार र उद्धारको नेतृत्व गर्नेछ। यस वर्ष मेला अवधिभर सञ्चार सम्पर्क सहज बनाउन नेपाल टेलिकमको टावर सञ्चालनमा ल्याउने तयारीसमेत भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *