शेयर बजार ३१.९७ अंकले ओरालो लाग्याे
काठमाडाैं, २५ मंसिर । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३१.९७ अंक घटेर १८८५.३१ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ६.२८ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.७२ अंक घटेको छ।
यस दिन २५३ स्टकको २४ हजार ६४४ पटकको कारोबारमा १ अर्ब १० करोड ३४ लाख ४ हजार रुपैयाँ बराबरको ३५ लाख १२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
नेप्से ओरालो लागेपनि यस दिन दुई स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सिवाईसी लघुवित्त र समिट लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
त्यसैगरी, यस दिन मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ। कारोबारमा आएको नाडेप लघुवित्तको शेयर यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, पाँचथर पावर कम्पनीको शेयरमूल्य यस दिन करिब ७ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १० करोड ९३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
त्यसैगरी, यस दिन नबिल बैंकको साढे ७ करोडको शेयर कारोबार भएको छ भने हिमालयन डिष्टिलरीको ५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ।