बाराही हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडाैं, २६ मंसिर । बाराही हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज मंसिर २६ गते अन्तिम दिन रहेको छ।
बाराही हाइड्रोपावरले सर्वसाधारण लगानीकर्ताहरुका लागि मंसिर २१ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियाे ।
कम्पनीले यस अघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा बाँकी रहेको १ लाख ४ हजार कित्ता शेयर र सर्वसाधारणका लागि छुट्याइएको ४ लाख ५० हजार कित्ता शेयर गरी कुल ५ लाख ५४ हजार कित्ता शेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेकाे थियाे ।
सोमध्ये ५ प्रतिशत अर्थात २७ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात ११ हजार ८० कित्ता शेयर कर्मचारीका लागि छुट्याईएको छ। लगानीकर्ताले बाँकी ५ लाख १५ हजार २२० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग बि माइनस प्रदान गरेको छ। यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।