रूकुमकाे  सिस्नेमा आगोको भरमा ‘बर्थिङ सेन्टर’

रूकुम , ११ पुस । रूकुमकाे सिस्ने गाउँपालिकाको स्वास्थ्य चौकी पुग्न सदरमुकाम रुकुमकोटबाट पैदल यात्रामा एकदेखि दुई दिनसम्म लाग्छ ।सदुरमुकाम रुकुमकोट पनि यसै पालिका अन्तर्गत पर्ने भए पनि वडा नं १ मा रहेको स्वास्थ्य चौकीसम्म भौगोलिक कठिनाइका कारण सडक सञ्जाल विस्तार हुनसकेको छैन । शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधारको अभावमा यहाँका स्थानीयले गुणस्तरीय सेवा पाउन सकेका छैनन् ।

यहाँ रहेको स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टरमा आगोको भरमा सञ्चालन भइरहेको छ । हिमालको फेदैमा रहेकाले जाडोयाममा यहाँ अत्यधिक चिसो हुन्छ । यहाँ सुत्केरी हुन आउनेहरुलाई आगो बालेर उज्यालो र न्यायोपना गराइँदै आइएको छ ।

सुत्केरी मात्र होइन अन्य रोगका कारण राति आउने बिरामीको उपचार मोबाइल र दाउराको उज्यालोमा हुने गरेको स्वास्थ्यचौकिका नर्स राधिका केसीको भनाइ छ ।

विसं २०७७ मङ्सिर २३ गते उद्घाटन भएको बर्थिङ सेन्टरमा उक्त आर्थिक वर्षमा ३६ जना सुत्केरी भएका थिए । साथै २५ जना घरमै सुत्केरी भएका थिए । त्यसैगरी आव २०७८ र ७९ मा ५६ जना बर्थिङ सेन्टरमा र १० जना घरमै सुत्केरी भएका थिए भने चालु आवको मङ्सिरसम्म ३५ जनाभन्दा बढी बर्थिङ सेन्टरमा सुत्केरी भइसकेका छन् ।

“ढुङ्गा र माटोबाट निर्मित दुई कोठे भवनमा बर्थिङ सेन्टर सञ्चालन छ”, केसीले भन्नुभयो, “सेन्टरमा हुनुपर्ने आधारभूत आवश्यकता र पर्याप्त भौतिक संरचनाको पनि अभाव छ ।”

बर्थिङ सेन्टर भवनभित्र र बाहिर प्लास्टर गरिएको छैन भने भूइँ पूरै धुलाम्य छ । छाना पनि जस्ताले छाएकाले अत्यधिक चिसो हुने र पानी चुहिने समस्या भएको उहाँको भनाइ छ । अझ हिमपात पनि भइरहने भएकाले समस्या अझ बढ्ने उहाँले बताउनुभयो ।

“चिसोको समस्या त पहिलेदेखि कै हो यहाँ अर्को समस्या विजुलीको पनि हो”, उहाँले भन्नुभयो, “हालसम्म यस वडामा विद्युत् आपूर्ति हुनसकेको छैन ।”

उज्यालोका लागि स्वास्थ्य चौकीमा जडान गरिएको सोलारबाट बर्थिङ सेन्टरसम्म तार ल्याइए पनि दुई÷तीन घण्टा मात्र काम गर्ने उहाँको भनाइ छ । ब्याट्री ब्याक अप पनि नभएकाले समस्या भइरहेको छ ।

रातको समयमा सुत्केरी गराउँदा दाउरा बाली काम चलाइरहेको उहाँले बताउनुभयो । सुत्केरी र बच्चालाई न्यानो राख्नका लागि पनि ओछ्यान नजिकै आगो बालिने गरेको उहाँको भनाइ छ ।

“यहाँको विकटताका कारण बिरामी पनि स्वास्थ्य चौकीका कर्मचारीले स्ट्रेचरमा बोकेर ल्याउँछन्, उहाँहरुले निकै दुःख पाएर हामीलाई सेवा दिइरहनुभएको छ”, भट्टेचौरकी रामकली बुढाले बताउनुभयो ।

अन्धकारमा यसरी आमा र बच्चाको ज्यानलाई जोखिममा राखेर सुत्केरी गराउदा सुरुआती दिनमा डर लागे पनि अरु विकल्प नभएको राधिकाको भनाइ छ ।

बर्थिङ सेन्टरमा राधिका एक जना मात्र कर्मचारी हुनुहुन्छ । उहाँ बिरामी पर्दा र विदा लिँदा स्वास्थ्यचौकी इञ्चार्ज काशिराम ओलीले सुत्केरी गराउनुहुन्छ ।

यो स्वास्थ्य चौकी मात्रै होइन जिल्लामा भएका अन्य बर्थिङ सेन्टर पनि यस्तै अवस्थामा छन् । जिल्लाका अधिकां बर्थिङ सेन्टरमा आधारभूत मापदण्ड पनि नपुगेको रुकुम पूर्व अस्पतालका डाक्टर पूर्णबहादुर पुनले बताउनुभयो ।

रुकुमपूर्वमा एक १५ शैयाकाे जिल्ला अस्पताल छ भने १५ वटा स्वास्थ्य चौकी र एउटा प्राथामिक स्वास्थ्य केन्द्र छन् । सामान्य बिरामी पर्दा पनि दुर्गम क्षेत्रबाट डोको तथा स्टेचरमा बिरामी बोकेर सदरमुकाम रुकुमकोट र अन्य जिल्लामा जानुपर्ने बाध्यता यहाँका स्थानीयमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *