एमालेमा अध्यक्ष ओलीको राजीनामा माग्ने वा नेतृत्व परिवर्तन गर्ने भन्ने एजेण्डाको ‘च्याप्टर क्लोज

 

काठमाडौं, ४ असोज । नेकपा (एमाले) मा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्ने वा नेतृत्व परिवर्तन गर्ने भन्ने एजेण्डाको अब अन्त्य भएको छ । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदललेको महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनमा ओलीको राजीनामा माग्ने वा नेतृत्व परिवर्तन गर्ने भन्ने शब्द राखिएको भन्दै मिडियाबाजी भैरहेका बेला बैठकमा ती शब्द नराख्ने सहमति भएको नेताहरुले जानकारी दिएका छन् ।

आइतबार बसेको कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले सचिव महेश बस्नेतले अध्यक्ष ओलीको राजीनामा माग्ने वा हटाउने विषय प्रतिवेदनमा समावेश नगरिने जानकारी दिनुभयो ।
पार्टी फुटोस् भन्ने चाहना राख्ने केही प्रवृत्तिलाई समेत ध्यानमा राख्दै यसअघि विभिन्न सदस्यबाट आएका मस्यौदा प्रस्तावहरूलाई समेटेर एकीकृत प्रतिवेदन तयार पार्ने जिम्मेवारी तीन नेतालाई दिइएको र सोही आधारमा तयार भएको प्रतिवेदनमाथि छलफल गरिएको सचिव बस्नेतले जानकारी दिनुभयो ।

सचिव बस्नेतले अध्यक्षको राजीनामा माग्ने, अध्यक्षलाई हटाउने वा अध्यक्षको आलोचना गर्ने विषय प्रतिवेदनमा कतै पनि नराख्ने सहमति भएको जानकारी दिनुभयो । साथै पार्टीको सुदृढ एकता प्रदर्शन गर्ने, संगठनलाई थप जुझारु बनाउने र वर्तमान सरकारको कार्यशैलीविरुद्ध सशक्त आन्दोलनको तयारी गर्ने उद्देश्यसहित राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने सहमति पनि भएको उहाँले जानकारी दिनुभयो ।
यस्तै एमाले सचिव राजन भट्टराईले सोमबार बस्ने केन्द्रीय कमिटी बैठकमा एउटै प्रतिवेदन पेश गरिने जानकारी दिनुभयो । उहाँले हाल तयार भएको प्रतिवेदनलाई थप परिमार्जन गरिने उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *