दुई गीतकारको प्रतिलिपि अधिकार हनन: सगरमाथा डिजिटलविरुद्ध सरकारी वकिलद्वारा मुद्दा दायर
काठमाडौँ, ४ असाेज । सरकारले दुई गीतकारको प्रतिलिपि अधिकार हनन भएको दाबीसहित सङ्गीत कम्पनी सगरमाथा डिजिटल प्रालिविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।
सरकारी वकिलको कार्यालय, काठमाडौँले ९५ लाख रुपैयाँ बिगो तथा अन्य क्षतिपूर्ति माग गर्दै सङ्गीत कम्पनी सगरमाथा डिजिटल प्रालिविरुद्ध प्रतिलिपि अधिकारसम्बन्धी कसुरमा छुट्टाछुट्टै दुई मुद्दा दायर गरेको हो।
सरकारी वकिलको कार्यालयले दायर गरेको आरोपपत्रमा गीतकार सरोज केसी र शशि शर्मा मजगैयाँको गीतमाथि प्रतिलिपि अधिकार उल्लङ्घन गरेको आरोप लगाइएको छ। केसीको ३५ लाख रुपैयाँ र मजगैयाँको ६० लाख रुपैयाँ नोक्सान भएकाले क्षतिपूर्ति दिलाउनुपर्ने उनीहरूको माग छ।
गीतकारद्वयले कम्पनीका सञ्चालक हीराबहादुर केसीमाथि आफ्ना गीतमाथि अनधिकृत नियन्त्रण गरेको, अनुमति नलिई प्रयोग तथा व्यावसायिक दोहन गरेको र सर्जकको बौद्धिक सम्पत्तिबाट आर्जित आम्दानी लुकाएर ठगीसमेत गरेको आरोप लगाएका छन्। उनीहरूको जाहेरीको अनुसन्धानपछि मुद्दा दायर गरिएको हो।
गीतकार केसीले आफूले लेखेको ‘तिम्रो दिलमा चोट लाग्दा’ लगायतका गीतबाट भएको आम्दानीको कुनै विवरण नदेखाई आम्दानी नै नभएको भन्दै बारम्बार आफूलाई झुक्याएर ठगी गरेको जाहेरीमा उल्लेख गरेका छन्।
गीतकार मजगैयाँले आफूले लेखेका ‘तिम्रै यादमा’ र ‘तिम्रो माया मेरो माया’ लगायतका गीत आफ्नो अनुमतिबेगर प्रयोग तथा नियन्त्रण भएको जाहेरीमा उल्लेख गरेका छन्। ती गीतबाट आरोपित कम्पनीले अनधिकृत रूपमा आर्थिक आम्दानी गरेको दाबी गर्दै उनले बिगो र क्षतिपूर्ति भराउन माग गरेका छन्।
यस मुद्दामा सरकारी वकिलले निवेदकहरूको मागदाबीबमोजिम प्रतिवादीलाई कानुनअनुसार सजाय हुनुपर्ने राय पेस गरेको छ।
