गोरखामा जीप दुर्घटना, एक वृद्धाको मृत्यु, सात जना घाइते
गोरखा, ४ असोज । सिरानचोक गाउँपालिका–२ थालाजुङमा आज बिहान भएको जीप दुर्घटनामा एक वृद्धाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
थालाजुङका वडाध्यक्ष खुसीमान गुरुङले राससलाई जानकारी दिएअनुसार भच्चेकबाट चित्रेपोखरीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा जीपले च्यापेर थालाजुङ काउलेकी ८१ वर्षीया लालमाया गुरुङको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयले जनाएअनुसार दुर्घटनामा सिरानचोक गाउँपालिका–७ का ६८ वर्षीय कमलबहादुर घिमिरे गम्भीर घाइते भएका छन्। सोही ठाउँका ४८ वर्षीया सीता पाण्डे, ४८ वर्षीय लोकबहादुर खड्का र ७३ वर्षीय कुलबहादुर सार्की पनि घाइते भएका छन्।
यसैगरी सिरानचोक–६ सिम्लेकी ६८ वर्षीया सीता गुरुङ तथा वडा नं ७ डाँडागाउँकी २७ वर्षीया रोजिना नेपाली र उनकी दुई वर्षीया छोरी रेविका नेपाली घाइते भएका छन्। सबै घाइतेको प्रदेश अस्पतालमा उपचार भइरहेको छ। जीप चालक विकास गुरुङ प्रहरीको नियन्त्रणमा रहेका छन्।
