माओवादीसंगको गठबन्धनमा आशंका गरेका थियाैं : प्रवक्ता महत
काठमाडौ, २० पुस । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले चुनावपछि पनि गठबन्धनलाई निरन्तरता दिन कांग्रेसले कोसिस गरे पनि सफल हुन नसकेको बताएका छन् ।
आज कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भएकाे पत्रकार सम्मेलन प्रवक्ता महतले गठबन्धन छाडेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गएको बताउँदै माओवादीसंगको गठबन्धनमा पहिल्यै शंका गरेका प्रस्ट पारे ।
‘हामीले नेकपा माओवादीसंगको गठबन्धनमा शंका गरेका थियौं, आखिर भयो त्यस्तै,’उनले भने ।
प्रचण्डले गठबन्धन छाडेर जानुभयो जुन निर्वाचन दौरानमा गरिएका प्रतिबद्धताविपरीत थियो,’ महतले भने, ‘किन प्रचण्डले गठबन्धनलाई टुट्न दिनुभयो भन्नेबारे विश्लेषण हुँदै जालान्। तर गठबन्धन टुट्नुमा कांग्रेस दोषी छैन।’
उनले निर्वाचनमा कांग्रेसले अपेक्षा गरेअनुसार परिणाम ल्याउन नसके पनि सन्तोषजनक परिणाम आएको बताए।
कांग्रेस सबैभन्दा ठूलो पार्टी भए पनि प्रतिपक्षमा रहनुपर्ने परिवेश सिर्जना भएपनि विचिलत नभएकाे र सशक्त प्रतिपक्षको भूमिका खेल्दै पार्टी संगठन विस्तारको काममा लाग्ने प्रस्ट पारे ।
‘कांग्रेस विचलित भएको छैन। हामीले कहीँ कतै पनि वैकल्पिक नेतृत्व जुटाएर प्रधानमन्त्री लिने प्राथमिकता लिएनौं,’ उनले भने, ‘अब हामी सशक्त प्रतिपक्षको भूमिका खेल्छौं। पार्टी संगठन विस्तारलगायत काम गर्छौं।’