नेप्सेमा दोहोरो अंककाे वृद्धि, कारोबार रकम ५ अर्ब नाघ्यो

काठमाडाैं, २१ पुस । नेप्से दोहोरो अंकले वृद्धि भएकाे छ । नेप्से संगै काराेबार रकम पनि बढेकाे छ । साताको अन्तिम कारोबार दिनयस दिन नेप्से परिसूचक १७.९२ अंक बढेर २१४३.७६ विन्दुमा पुगेको छ। त्यस्तै सेन्सेटिभ इण्डेक्स २.६१ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.२३ अंक बढेकाे छ ।

नयाँ सरकार गठन भएर अर्थमन्त्रीका रुपमा नियुक्त भएका विष्णु पौडेल आएयता नेप्से परिसूचक २७८.२९ अंक बढिसकेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकममा पनि उल्लेख्य सुधार भएको छ । यस दिन २५९ स्टकको ७१ हजार ८१६ पटकको कारोबारमा ५ अर्ब ४ करोड ७ लाख ४० हजार रुपैयाँ बराबरको १ करोड २५ लाख ८१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिनको कारोबार रकम करिब ११ महिना यताकै उच्च हो। यसअघि २०७८ फागुन १ गते नेप्सेमा ५ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो । बिहीबार चन्द्रागिरी हिल्स, बुद्धभुमि नेपाल हाइड्रोपावर, धौलागिरी लघुवित्त, खप्तड लघुवित्त र श्रृजनशील लघुवित्तको शेयरमूल्य १० प्रतिशत बढेको छ।

त्यसैगरी, बाराही हाइड्रोपावर, हिमालयन उर्जा विकास कम्पनी, इष्टर्न हाइड्रोपावर र हिमालयन हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ ।

सो कम्पनीको यस दिन ४३ करोडभन्दा बढिको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन रिडी पावर कम्पनीको २१ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने हिमाल दोलखा हाइड्रोपावर र एनआईसी एशियाको ११ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

यस दिन १३ उपसमूहमध्ये बैंकिङ्ग र अन्य उपसमूहको परिसूचक घटेको छ भने बाँकी उपसमूहको परिसूचक बढेको छ।