परराष्ट्र मामिला विभागले आयोजना गरेको दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
काठमाडौं, ७ माघ । नेकपा (एमाले) परराष्ट्र मामिला विभागले परराष्ट्र मामिला सम्बन्धनमा गर्ने गतिविधि, कुटनीतिक सम्बन्ध विस्तार, वैदेशिक भ्रमणमा जाँदा पालना गर्नुपर्ने विषय, परराष्ट्र मामिलासँगको सम्बन्धको विस्तारलगायतलाई थप प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने जस्ता विषयमा केन्द्रित भएर रकाठमाडौंको एक होटलमा दुई दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ ।
केही हप्ता अघि मात्रै एमाले मुख्यालयमा विभिन्न जनवर्गीय संगठनहरुको उपस्थितिामा विभागले यी विषयसँग केन्द्रित भएर अभिमुखीकरण कार्यक्रमको आयोजनाबारे छलफल गरेको थियो । सोही अनुसार दुई दिने अभिमुखीकरण कार्यक्रम गरेको परराष्ट्र मामिला विभाग सचिव डाक्टर अञ्जान शाक्यले जानकारी दिनुभयो । दुई दिने कार्यक्रमको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो । शुक्रबार कार्यक्रमको उद्घाटन गर्दै ओलीले असंलग्न र तटस्थ परराष्ट्र नीति रहेको नेपालले सबै राष्ट्रसँग सन्तुलित, विश्वसनीय र भरपर्दो सम्बन्ध कायम राख्नुपर्ने बताउनु भएको थियो ।
उहाँले छिमेक सम्बन्धका सन्दर्भमा तनावरहित असल छिमेक सम्बन्ध चाहेको पनि उहाँले बताउनु भएको थियो । आजसम्म सञ्चालित दुई दिने कार्यक्रममा एमालेका पदाधिकारी, विभागका पदाधिकारी र सदस्यहरु, परराष्ट्रसँग सम्बन्धित भएर गतिविधि गर्दै आएका जनवर्गाीय संगठनका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । अभिमुखीकरणको पहिलो दिन स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डाक्टर राजन भट्टराईले अभिमुखीकरण कार्यक्रमका बारेमा प्रकाश पार्नुभएको थियो ।
त्यसैगरी पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आर्थिक कूटनीतिका विषयमा प्रस्तुति दिनुभएको थियो । पूर्व राजदूत डाक्टर नारद भारद्वाजले ‘सिफ्टिङ जिओ पोलिटिक्स इन द मिडल इष्ट कन्ट्रिज एण्ड अपर्चुनिटिज् फर नेपाल’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । डाक्टर करण ठगुन्नाले ‘ओभरभ्यु अफ इन्टरनेशनल फाइनान्सियल इन्स्टिच्युशन एण्ड नेपालः फाइनान्सियल रिलेशन्स एण्ड प्रस्पेक्ट्स’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
अभिमुखीकरणको दोस्रो दिन शनिवार कूटनीतिक अभ्यास प्रोटोकल सम्बन्धी ज्ञान, आतिथ्यता, कूटनीतिक अभ्यासमा सुरक्षा सन्दर्भ लगायत विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
अभिमुखीकरण कार्यक्रममा कुटनीतिक क्षेत्रका विज्ञहरुले दुई देशविचको सम्बन्ध आर्थिक गतिविधि अनुसार व्यापार, सेवा, श्रम, रोजगारसँग पनि जोडिएको हुन्छ भन्दै तीसँग जोडेर पनि ती देशसँगको सम्बन्धन कति प्रगाढ छ भनेर हेर्न सकिने बताउनुभयो । उहाँहरुले कुटनीतिक सम्बन्धन विस्तार गर्ने कुरा राजदूतसँग मात्रै केन्द्रित नभएर व्यापार, सेवा, श्रम, रोजगार जस्ता तत्वसँग पनि जोडिने बताउनु भएको थियो ।
नेताहरुले स्वदेश वा विदेशमा विदेशीहरुसँग भेट गर्दा आफुहरुले कसरी प्रस्तुति दिने, आफू कसरी प्रस्तुत हुने भन्ने जस्ता विषयमा पनि अभिमुखीकरण कार्यक्रम केन्द्रित भएको थियो । सचिव डाक्टर शाक्यका अनुसार विदेशीहरुसँग भेट्दा वा कुराकानी गर्दा गरिने शारीरिक हाउभाउ, बोलीचालीले कस्तो प्रभाव पार्छ भन्ने विषयमा पनि अभिमुखीकरण कार्यक्रममा कुटनीतिक क्षेत्रका विज्ञहरुले आफ्नो प्रस्तुति प्रस्तुत गर्नुभएको थियो ।
विदेशीहरुसँग बस्दा कसरी खाना खाने, कसरी काँटा–चम्चा चलाउने, खाना खाँदा कस्तो पोजिशनमा बस्ने, खाना चपाउँदा कसरी आवाज ननिकाली चपाउनुपर्छ, विदेशी पाहुनाहरुलाई स्वागत वा विदाई गर्दा कसरी गर्ने, पाहुनालाई भेट्नु अघि समयको ख्याल कसरी गर्ने, कुन जिम्मेवारीमा रहेको व्यक्तिलाई भेट्न जाँदै छौँ, ऊसँग भेट्न जानु अघि भेट्नु पर्ने व्यक्तिको जानकारी, हात कसरी मिलाउने भन्ने जस्ता कुराहरुमा विज्ञहरुले अभिमुखीकरण गराउनु भएको थियो ।