ग्वार्कोमा गएराति कार र ट्याक्सी जुध्दा दुई जनाको मृत्यु

काठमाडाैं, १६ माघ । ललितपुरको ग्वार्कोमा कार र ट्याक्सी एक आपसमा जुध्दा दुई जनाको मृत्यु भएको छ।

बिएन्डबी अस्पताल अगाडिको ओरालोमा राति साढे १२ बजे कार र ट्याक्सी एक आपसमा जुधेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएकाे छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रविण पोखरेलका अनुसार बा २ ज ३४२० नम्बरको ट्याक्सी र बा ४ च १ नम्बरको कार ठोक्किएका हुन्।

ट्याक्सीमा सवार एक जना र कारमा सवार एक जनाको मृत्यु भएको हो। ट्याक्सीमा ६ जना सवार थिए भने कारमा दुई जना सवार थिए।

ट्याक्सीमा सवार सुनसरी घर भई ललितपुर महानगरपालिका ताल्छिखेल बस्ने ४७ वर्षीय सरोजकुमार विक र कारमा सवार चितवन घर भई टोखा नगरपालिका-७ ग्रीनल्यान्ड बस्ने प्रकाश आचार्यको मृत्यु भएको हो।

अन्य ६ जना सामान्य घाइते भएका छन् । तिव्र गतिका कारण उक्त दुर्घटना भएको पोखरेलले बताए।