मोलुङ हाइड्रोपावरकाे आईपीओ फागुन ४ देखि
काठमाडौं, २५ माघ । मोलुङ हाइड्रोपावर कम्पनीले फागुन ४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आफ्नो जारी पुँजीको ८० करोड २५ लाख रुपैयाँको ३४ प्रतिशतले हुने आउने २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता सेयर सार्वजनिक निष्कासनको अनुमति पाएको थियो ।
सार्वजनिक निष्कासनको लागि छुट्याएको सेयरमध्ये १० प्रतिशत अर्थात २ लाख ७२ हजार ८५० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरिसकेको छ ।
यस्तै ५ प्रतिशत अर्थात एक लाख ३६ हजार ४२५ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको छ भने २ प्रतिशत अर्थात ५४ हजार ५७० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी रहेको २२ लाख ६४ हजार ६५५ कित्ता सेयरका लागि कम्पनीले सर्वसाधारणबाट आवेदन माग गरेको हो ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका र अधिकतम ८ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
कम्पनीको आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु का साथै सिडिएसीको मेरो सेयर तथा सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीले ओखढुंगाको मोलुङ गाउँपालिकमा ७ मेगावाटको क्षमताको मोलुङ खोला जलविद्युत आयोजना निमार्ण गरी २०७४ चैत १२ देखि व्यवसायिक उत्पादन गर्दै आएको छ ।