ठूलो धक्का र क्षतिको बाबजुद कम्युनिष्ट आन्दोलन धुलो टक्टक्याउँदै उठ्योः ओली
काठमाडौं, २१ फागुन । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले झापा विद्रोह नेपालको राजनीतिक इतिहासमा एउटा अत्यन्त महत्वपूर्ण परिघटना भएको बताउनु भएको छ । सहिद स्मृति दिवसको सन्दर्भमा विज्ञप्ति निकाल्दै उहाँले यस्तो बताउनु भएको हो ।
‘यस विद्रोहमार्फत झापाका युवाहरुले निरङ्कुश राजतन्त्रका विरुद्ध सशक्त प्रतिरोधको शङ्खघोष गर्नुभयो,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कम्युनिष्ट आन्दोलनमा उत्पन्न शिथिलता, विभाजन र विखण्डनको सिलसिलामा सशक्त हस्तक्षेप गर्दै यस परिघटनाले विद्रोह, पुनर्गठन, पुनर्निर्माण र एकीकरणको नयाँ धार निर्माण गरेको थियो ।’
रजनीतिमा आशावादी र बलिादनका नयाँ मूल्यहरु स्थापित पनि त्यसपछि भएको उहाँको भनाई छ । त्यसैले नेपालको वामपन्थी आन्दोलनमा झापा विद्रोहको विशिष्ट योगदान रहेको उहाँको भनाई छ ।
‘आन्लोलनले सल्काएको विद्रोहका ज्वालाहरुलाई निभाउन तत्कालिन राज्यसत्ता क्रुरतापूर्वक प्रस्तुत भयो । दर्जनौँ योद्धाहरु मारिनुभयो । आन्दोलनका कैयौँ नेताहरुमाथि झुठा अभियोगहरु लगाएर कठोर यातना दियियो, १६–१७ वर्ष जेल र गोलघरमा बन्दी बनाइयो,’ अध्यक्ष ओलीको हस्ताक्षरहितको विज्ञप्तिमा उल्लेख गरिको छ, ‘कैयौँलाई विस्तापित हुन बाध्य बनाइयो । तर राज्य आतंक सिर्जना गरेर विद्रोहलाई समाप्त पार्ने राजतन्त्रका प्रयासहरु सफल हुन सकेनन् । ठूलो धक्का र क्षतिको बाबजुद आन्दोलन धुलो टक्टक्याउँदै उठ्यो ।’
उहााले ठूलो बलिदानीबाट वामपन्थी आन्दोलन यहाँसम्म आएको भन्दै दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गर्दै नेपाली कम्युनिष्ट आन्दोलनलाई अझ सशक्त राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्नु र यसको नेतृत्वमा समृद्ध नेपाल , सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दिनशामा अगाडि बढ्नु नै अग्रह सहिदहरुप्रतिको सच्चा सम्मान हुने उल्लेख गर्नुभएको छ ।