घुम्ती स्वास्थ्य शिविरबाट छ सय महिला लाभान्वित

पर्सा, २० चैत्र । पर्साको विभिन्न स्थानमा सञ्चालित घुम्ती स्वास्थ्य शिविरबाट ६ सयभन्दा बढी महिला लाभान्वित भएका छन् ।

वीरगञ्ज महानगरपालिकाद्वारा आयोजित घुम्ती शिविरमा महिलामा हुने आङ खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, फिस्टुला तथा पाठेघरसम्बन्धी स्क्रिनिङ जाँचलगायतका विभिन्न स्वास्थ्य जाँच गरिएको हो ।

वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखा अन्तर्गतको जनस्वास्थ्य प्रवद्र्धन शाखाको सहकार्यमा चैत ८ गतेदेखि सुरु भएको शिविर विभिन्न वडा हुँदै चैत १९ मा सम्पन्न भएको हो ।

उपचारका लागि टाढासम्म जान नसक्ने महिलालाई लक्षित गरी ६ वटा वडामा सञ्चालन गरिएको घुम्ती स्वास्थ्य शिविरबाट ६ सय ६१ महिला लाभान्वित भएका हुन् । शिविरमा एक सय नौ जनाको पाठेघरको मुखको क्यान्सरसम्बन्धी गरिएको परीक्षणमा २० जनामा गम्भीर समस्या देखिएको र १६ जनामा शङ्कास्पद अवस्था देखिएको थियो ।

त्यसैगरी २९ जनामा गरिएको स्तनसम्बन्धी परीक्षणमा १२ जनाको अवस्था शङ्कास्पद देखिएको र उनीहरुलाई अस्पताल पठाइएको थियो । चौबीस महिलामा आङ खस्ने समस्याबारे गरिएको चेकजाँचमा तीन जनामा सुरुवाती चरण देखिएको तथा १७ जनामा पहिलो र दोस्रोचरणको समस्या देखिएको थियो ।

त्यस्तै चेकजाँचको क्रममा चारजनामा पाठेघरको मुखमा मासु पलाएको र १४ जनामा भने सिस्टोसेलसम्बन्धी समस्या पाइएको डाक्टरले जनाएका छन् ।

वीरगञ्ज महानगरपालिका–२९ बसडील्वाको स्वास्थ्य चौकीबाट सुरु भएको शिविर वडा नं २८ को बगही स्वास्थ्य केन्द्र, वडा नं २० हरपतगञ्जको स्वास्थ्य चौकी, वडा नं २६ सुगौली विर्ताको स्वास्थ्य चौकी, वडा नं २४ रागढवाको स्वास्थ्य चौकी हुँदै वडा नं २३ प्रसौनी विर्ताको स्वास्थ्य चौकी पुगी सम्पन्न भएको थियो ।