प्रचण्डव्दारा देशवासीका नाममा सम्बोधन गरी राजीनामाको घोषणा
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज अपरान्ह ४ बजे देशवासीका नाममा सम्बोधन गर्नुभयो । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्दै आफ्नो नौ महिने शासन कालमा उल्लेख्य काम गरेको दावी गर्नुभयो ।सम्बोधनका क्रममा उहाँले संविधान कार्यान्वयनका क्रममा स्थानीय तहको पहिलो चरणको निर्वाचन, काठमाडौँ उपत्यकामा विद्युत् कटौतीको अन्त्य, लगानी सम्मेलनको सफल आयोजना, आर्थिक वृद्धिदर बढोत्तरीका निम्ति गरिएका सुधार कार्यक्रम, सर्वसाधारण जनतालाई सहज र सुलभ स्वास्थ्य सेवा, गरिब तथा विपन्न नागरिकलाई सहयोग र भूकम्पपछिको पुनःनिर्माणका कामलाई गति दिन आफू नेतृत्वको सरकार सफल भएको बताउनुभएको छ । अन्त्यमा राजीनामाको घोषणा गर्नुभयो । उहाँ राजीनामा बुझाउन राष्ट्रपति कार्यालय शीतल निवास जानुभयो ।