वडाध्यक्षहरुलाई हर्कको अर्को चेतावनी– ‘नगर प्रमुखको अघि भाँडभैलो गर्नेहरुले राजीनामा दिनु’
काठमाडौं, ७ वैशाख । कहिले ढुंगा बोकेर त कहिले वडाध्यक्षहरुलाई धम्की दिएर चर्चामा आउने धरान उपमहानगरपालिकाका हर्क साम्पाङ फेरि चर्चामा आउनु भएको छ । उहाँ यो पटक वडाध्यक्षहरूको राजिनामा मागेर चर्चामा आउनु भएको छ । उहाँले आज एक विज्ञप्ति जारी गर्दै पटक–पटक कार्यापालिका बैठक बहिष्कार गरेको भन्दै वडाध्यक्षहरूको राजीनामा माग गर्नुभएको हो ।
उहाँले यसअघि पनि १ पुसमा कार्यपालिकासहित वडाध्यक्षहरूको राजीनामा माग गरे पनि त्यो विषयले चर्चा पाएको थियो । ‘कसैले ‘म बैठक बस्दिन’ भन्न पाइँदैन त्यसैले कर्तव्य पुरा नगरेको र जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्ने जति सबैले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर बाटो प्रसस्त बनाई आम धरानबासी जनता र लोकतन्त्रलाई सहयोग गर्न अनुरोध छ’ उहाँले विज्ञप्तिमा भन्नुभएको छ, ‘वडाहरूमा के–कस्ता योजना, कार्यक्रम सम्पन्न भए भन्ने जानकारी मागेको कुरालाई असहमति राखिरहनु पर्ने कुनै कारण छैन ।’
उहाँले वडाहरुमा के कस्ता, के कति काम भएका छन तुरुन्तै सार्वजनिक गर्न वडाध्यक्षहरुलाई निर्देशन समेत दिनुभएको छ । उहाँले देश र जनताका लागि भन्दै खाएको सपथ नविर्सिन पनि सचेत गराउनु भएको छ । नगर प्रमुखको अघि भाँडभैलो गर्दै अवज्ञा गर्ने कुरा बेठिक भएको उल्लेख गर्नुभएको छ ।