पूर्वसूचना नदिएको आरोपको चिनियाँ दूतावासद्वारा खण्डन : ‘नेपाललाई समयमै महत्वपूर्ण जानकारी दिएका थियौँ’

काठमाडौँ, १३ भदौ । नेपालमा हालै आएको विनाशकारी बाढीपहिरोको जोखिमबारे चीनले पूर्वसूचना नदिएको भनी लागेको आरोपको काठमाडौँस्थित चिनियाँ दूतावासले औपचारिक खण्डन गरेको छ। दूतावासले एक विज्ञप्ति जारी गर्दै चिनियाँ पक्षले उपलब्ध प्रविधिको सीमाभित्र रहेर निरन्तर निगरानी गरेको र महत्वपूर्ण सूचनाहरू नेपाली पक्षसँग समयमै साझा गरेको दाबी गरेको हो।

दूतावासका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा हिमालय क्षेत्रको जटिल भू-बनोटका कारण निगरानीमा केही प्राकृतिक चुनौतीहरू रहेको उल्लेख गरिएको छ। “४ हजारदेखि ५ हजार मिटरभन्दा बढी उचाइमा रहेका हिमताल र हिम-चट्टानहरूको नियमित स्थलगत सर्वेक्षण गर्न न्यून उचाइका क्षेत्रमा जस्तो सहज छैन,” विज्ञप्तिमा भनिएको छ।

दूतावासले सन् २०१५ को भूकम्पले हिमालयको दक्षिणी ढलानका चट्टानी संरचनाहरूमा पारेको असरका कारण हिमाली क्षेत्रको भू-संरचना थप अनिश्चित र जोखिमपूर्ण बनेको समेत स्पष्ट पारेको छ।

चीनले नेपालसँगको विपद् व्यवस्थापन समन्वयलाई तीव्रता दिएको दाबी गर्दै अगस्ट २६ (भदौ १० गते) मा चीनको मौसम प्रशासन र नेपालको जल तथा मौसम विज्ञान विभागबीच आकस्मिक भर्चुअल बैठक भएको जानकारी दिएको छ। सो बैठकमा बाढीको अवस्थाको मूल्याङ्कन र तथ्याङ्क आदानप्रदान गरिएको दूतावासको भनाइ छ।

यसअघि मे महिनामा चीनको जलस्रोत मन्त्रालयको टोली र अगस्टमा चिनियाँ विज्ञान प्रतिष्ठानको टोलीले नेपाल भ्रमण गरी सीमापार विपद् सूचना आदानप्रदान संयन्त्रका विषयमा छलफल गरेको विज्ञप्तिमा उल्लेख छ।

चीनले नेपाललाई ‘माजु’ (MAZU) नामक बौद्धिक मौसम पूर्वसूचना प्रणालीमार्फत अनुकूलित सेवा उपलब्ध गराइरहेको बताएको छ। यस प्रणालीले सीमावर्ती क्षेत्रका तालहरूको निगरानी र मौसमी पूर्वानुमानमा सहयोग पुर्‍याउने दूतावासले जनाएको छ।