भोटेकोशीमा पुनः बाढीको त्रास: रातभर स्थानीयको भागभाग, अहिले जलसतह सामान्यतर्फ

रसुवा, १४ भदौ । भदौ १० गतेको विनाशकारी बाढीको पीडा सेलाउन नपाउँदै रसुवाको भोटेकोशी नदीमा आज बिहान पुनः बाढी आएको छ । बाढीका कारण रसुवासहित नदी तटीय क्षेत्रको जनजीवन फेरि त्रसित बनेको छ ।

गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङका अनुसार आज बिहान करिब ३ः३० बजेतिर ठुलो आवाजसहित बाढी आएको थियो । बाढी आएलगत्तै तटीय क्षेत्रका बासिन्दा मात्र नभई नदीभन्दा निकै माथि रहेका धुञ्चेबासी समेत त्रसित भई माथिल्लो भेगमा रहेको अस्पताल क्षेत्र र खेलमैदानमा जम्मा भएका थिए । बाढीको सतह बिस्तारै घट्न थालेपछि अहिले स्थानीय बासिन्दाहरू आ-आफ्नो घरतर्फ फर्कन थालेका छन् ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी द्रुपप्रसाद अधिकारीले बाढी आउनासाथ छिमेकी जिल्ला नुवाकोटमा सञ्चार सम्पर्क गरी सतर्कता अपनाउन जानकारी गराइएको बताउनुभयो । रसुवाको जानकारी लगत्तै नुवाकोट प्रशासनले तटीय क्षेत्रमा जोखिम कम गर्न ‘माइकिङ’ गरी सर्वसाधारणलाई सुरक्षित रहन आग्रह गरेको थियो ।

अवस्थाको थप जानकारी र सम्भावित क्षतिको मूल्याङ्कनका लागि धुञ्चेमा तयारी अवस्थामा राखिएको नेपाली सेनाको हेलिकप्टर माथिल्लो नदी तटीय क्षेत्रतर्फ उडेको छ । आजको बाढीबाट भएको थप भौतिक वा मानवीय क्षतिको आधिकारिक विवरण भने प्राप्त भइनसकेको प्रशासनले जनाएको छ । अघिल्लो हप्ताको बाढीले ठुलो क्षति पुर्‍याएको यस क्षेत्रमा पटक-पटकको बाढीले स्थानीयमा अझै डर र त्रास कायमै रहेको छ ।