आज सख्खरको सर्बत खुवाउने दिन अक्षत तृतिया

घर घरमा भूत भित्र्याएर अक्षय तृतिया मनाइँदै

ललितपुर, १० वैशाख । काठमाडौं उपत्यकामा आज अक्षय तृतिया पर्व मनाइँदैछ । अक्षय तृतियालाई क्षय नहुने तृतियाका रुपमा लिइन्छ । त्यसैले आजको तृतिया अन्य तृतियाहरू भन्दा फरक मानिन्छ ।

आजकै दिन महादेव र पार्वती बीच विवाह सम्पन्न भएको कुरा पुराणमा उल्लेख छ । त्यसैले आजको दिन विवाह गर्न कुनै साइत हेर्नु पर्दैन भन्ने मान्यता रहेको छ । त्यस्तै आजको दिन शुभकार्य लगायत व्यापार व्यवसाय, नयाँ कार्य, यात्रा आदि जस्ता कार्यहरू शुभारम्भ गर्दा त्यसको क्षय नभई राम्रो प्रतिफल दिने विश्वास गरिन्छ । त्यसै नयाँ व्यवसाय शुरु गर्नेहरू आजकै दिन पर्खेर बसिरहेका हुन्छन् ।

उपत्यकाका नेवार समुदायमा आजको दिन सख्खर–पानी खुवाउने चलन रहेको छ । खास गरी बाटो हिँड्ने बटुवाहरूलाई आज साखःति अर्थात सख्खर–पानी खुवाउनाले ठूलो पूण्य लाभ हुन्छ भन्ने विश्वास गरिन्छ ।

त्यसैले आज काठमाडौंको असन, मखन टोल लगायत भक्तपुरका विभिन्न स्थानहरूमा माटोको भाँडामा राखी चिसो सख्खर–पानी वा सर्बत खुवाउने गरिन्छ ।
काठमाडौंका कतिपय समुदायमा आजको दिन बाटोमा आउने जति सबैलाई सख्खर–पानी खुवाउन विशेष गुठीकै पनि व्यवस्था गरिएको हुन्छ ।

बैशाख महिनाको चर्को घाममा हिँड्ने बटुवाहरूलाई सख्खर पानी खुवाउनाले शितलता र शक्ति पनि प्राप्त हुने गर्दछ । साथै यसले झाडापखाला जस्तो गर्मी याममा हुन सक्ने रोगबाट पनि बचाउँदछ ।

 

घर घरमा भूत भित्र्याइँदै

काठमाडौं उपत्यका विशेषतः कृषिप्रधान क्षेत्र हो । यहाँको मुख्य कार्य र आयको स्रोत भनेकै कृषि हो । उपत्यकाका किसानहरूले असारमा गरिने मुख्य कृषि कार्यका लागि आजैका दिनदेखि तयारी शुरु गर्दछन् ।

असारमा लगाउने धान बाली यहाँको मुख्य रोपाइँ हो । यसको लागि यहाँका किसानहरूले ठूलो तयारी गरेका हुन्छन् । धान रोप्ने बेला आफूमा ठूलो शक्तिको सञ्चार होस् र घरको पनि रक्षा होस् भनेर किसानहरूले आजका दिन विशेष तान्त्रिक पूजा गरी घर घरमा भूत भित्र्याउने गर्दछ । यसको कसैले मरु टोलको तिसलमा त कसैले असन चोकको बीचमा ‘भू भाग’ चढाई भूतलाई घरमा भित्र्याउने गरिन्छ ।

घरमा भूतको बास भएपछि मानिसहरूमा भूतकै जस्तो शक्ति सञ्चार हुने, धेरै काम गर्न सक्ने र जति काम गरे पनि नथाक्ने होइन्छ भन्ने विश्वास गरिन्छ ।

यसरी आजको दिन घरमा भित्र्याइएको भूतलाई असारको रोपाइँ कार्य नसकुञ्जेलसम्म बास दिई राख्ने गरिन्छ । असारमा रोपाइँ सकेपछि घरमा राखिएको उक्त भूतलाई घरबाट धपाउने अर्थात पन्छाउने गरिन्छ । त्यो भूत पन्छाउने दिनलाई ‘गथांमुगः’ चःर्हे भनिन्छ । गथांमुगःका दिन घरभरि सफा सुग्घर गरी भूतलाई पन्छाउने गरिन्छ ।