अपराध

निरा हत्या काण्ड : घटनाकाे नवाैं दिनपछि आरोपी पक्राउ

काठमाडौं, १७ वैशाख। कपनस्थित सरस्वतीनगरमा भएकाे निरा पाण्डेको हत्यामा संलग्न आरोपी पक्राउ परेका छन् ।

निराकाे वैशाख ७ मा पसलमै हत्या भएको थियो । हत्या भएकाे नवाैं दिनपछि आरोपी पक्राउ परेका हुन् । प्रहरीले आरोपीलाई झापाबाट पक्राउ गरेको हाे ।

हत्यामा संलग्न भएकाे आरोपमा विनोद विकलाई पक्राउ गरिएको अनुसन्धान समितिका एकजना सदस्यले बताए ।

अनुसन्धानमा संलग्न अधिकृतहरुकाअनुसार विनोद झापाको धुलाबारीका स्थानीय हुन् । आरोपीको विस्तृत विवरण खुलिसकेको छैन । घटनाबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरोकी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरेको छ ।

करिब १० वर्षदेखि भाँडा पसल सञ्चालन गर्ने आचार्यको पसलमा वैशाख ७ गते एकजना महिलाले उधाराे पैसा बुझाउन गएकाे समयमा उनलाई नदेखेपछि निराका श्रीमान योगेन्द्र आचार्यसंग फाेन गरेर साेध्दा पसलकाे काउन्टरमै हाेला भन्ने जवाफ आएपछि हेर्दा ३५ वर्षीया निरा रगतपच्छे भएर ढलेको देखेपछि परिवारलाई खबर गरेकी थिइन् ।

उनको शरीरको विभिन्न भागमा २० भन्दा बढी चक्कुले हानेर हत्या गरिएको थियो । हत्याबारे केन्द्रीय अनुसन्धान ब्यूरो, उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टिमले अनुसन्धान गरेको थियो ।

निरा आचार्यकाे हत्या भएको एक साताभन्दा बढी समय भइसक्दा पनि आरोपी पक्राउ पर्न नसकेको भन्दै स्थानीय ब्यापारीहरूले सुरक्षाकाे ग्यारेण्टी, र आरोपीकाे पक्राउ गर्न प्रशासनविरुद्ध आन्दोलन गरिरहेका थिए ।