निर्वाचन आयोगद्वारा ८२ राजनीतिक दललाई लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्देशन
काठमाडौं, २९ वैशाख । निर्वाचन आयोगले ८२ दललाई लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको छ ।
आयोगले आर्थिक वर्ष २०७८/७९ को लेखा परीक्षण प्रतिवेदन तोकिएको समय भित्र सार्वजनिक नगरिएको भन्दै ७ दिनभित्र सार्वजनिक आयोगमा पेश गर्न निर्देशन दिएको हाे ।
आयोगकाे अडिट रिपोर्ट सार्वजनिक नगर्ने दलको सूचीमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, रास्वपा, नेकपा एस, जनता समाजवादीलगाएतका ८२ दल छन् ।
आयोगकाे प्रेस विज्ञप्तिमा भनिएकाे छ । सम्बन्धित दलको कार्यालय वा वेबसाइट, आमसञ्चार माध्यम (पत्रपत्रिका, रेडियो, टेलिभिजन आदि), सामाजिक सञ्जाल (फेसबुक, ट्विटर, ईन्सटाग्राम) का माध्यमबाट सार्वजनिक गरी सार्वजनिक गरेको मितिले ७ (सात) दिनभित्र सोको जानकारी आयोगमा गराउन निर्देशन दिएको छ ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा (१) बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र कानुन बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र आयोगमा सो लेखा परीक्षण प्रतिवेदन पेस गर्नुपर्ने कानूनी व्यवस्था छ ।