आफ्ना सांसदले भनेका अभिव्यक्ति गलत भन्दै प्रधानमन्त्रीले माफी मागेपछि जलहरी प्रकरण सुल्झियो

काठमाडौं, १३ जेठ । पशुपतिनाथको जलहरी प्रकरणमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना सांसदको भनाई गलत भएको भनेपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसद चल्न नदिने आफ्नो अडानबाट पछि हटेको छ ।

आज संसदलाई सम्वोधन गर्दै प्रचण्डले पशुपतिनाथको जलहरी प्रकरणमा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई जोडेर संसदमा अभिव्यक्ति दिनु उचित नभएको बताउनुभयो । उहाँले त्यसो भन्दा एमालेका सांसदहरुले टेवुल ठटाएर सहमति जनाए । पशुपतिनाथको जलहरीलगायतका विषयमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास कोषको भएको भन्दै प्रचण्डले यसमा सोही संस्थाले काम गरेको विषयमा कुनै विवाद नभएको प्रष्टीकरण समेत दिनुभयो । उहाँले सम्वोधनकै क्रममा यो विषय अख्तियारमा छानबिन भइरहेको भन्दै छानबिनमा सरकारले सघाउने बताउनु भयो ।

केही दिन अघि माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल कोभिड सङ्कटको बेला भित्र्याइएको स्वास्थ्य सामग्रीमा २ अर्बको भ्रष्टाचार र पशुपतिनाथमा जलहरी चढाउँदा सुन भनेर पित्तल लगाएर भ्रष्टाचार गरेको भन्दै अभिव्यक्ति दिनुभएको थियो । त्यो अभिव्यक्तिका विरुद्धमा एमालेले सदन अबरुद्ध गर्दै आएको थियो । आज पनि प्रतिनिधिसभा बैठक सूरू हुनेवित्तिकै एमाले सांसदहरूले उक्त अभिव्यक्ति संघीय संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए ।

शनिबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेलेले सांसद दाहालले दिएको सो अभिव्यक्तिसहितको शब्द संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएपछि संसद सुचारु भएको थियो । सभामुख देवराज घिमिरेले त्यसबारे जवाफ दिन प्रधानमन्त्री दाहाललाई समय दिनुभएको थियो भने प्रधानमन्त्री दाहालले सो प्रकरणबारे पार्टीका सांसद दाहालले बोलेको कुरा संसदका रेकर्डबाट हटाउन सकिने प्रचलन गरेको स्मरण गराउनु भएको थियो । ‘पशुपतिनाथ मन्दिरको जलहरीलगायतका विषयमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास कोषको हो । र, सोही संस्थाले काम गरेको विषयमा कुनै विवाद छैन । जलहरीका केही विषयबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निवेदन परी छानबिन, अनुसन्धान भइसकेको छ,’ प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘स्वतन्त्र एवम् निष्पक्ष छानबिन गर्ने नै छ । यसमा सरकारको सहयोग रहनेछ’, प्रधानमन्त्रीले भने, ‘पशुपति विकास कोषसँग सम्बन्धित पशुपतिनाथको जलहरीसम्बन्धी विषयमा प्रमुख प्रतिपक्षको नेतालाई जोडेर सम्मानित सदनमा विचार व्यक्त हुनु उचित होइन । यस्ता विषय संसदको रेकर्डबाट हटाउने प्रचलन पनि रहेकै छ ।’

आजै शीर्ष तीन दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफलले सदन सुचारु गर्ने सहमति भएको थियो।