कोशी र बागमतीसहित चार प्रदेशमा ‘भारी वर्षा’ हुने

काठमाडौँ, २० असार । मनसुनी वायुको प्रभाव देशभर कायम रहँदा आज (शनिबार) पनि मुलुकका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभरको मौसम साधारणतया बदली रही कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।

महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने प्रक्षेपण गरेको छ। देशका पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, उच्च हिमाली भेगका केही स्थानमा हिमपात हुनसक्ने मौसमविद्ले बताएका छन्। तराईका जिल्लाहरूमा पनि मौसम बदली भई मध्यम वर्षा हुने देखिन्छ।

आज राति पनि देशभरको मौसम बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मध्यम वर्षा र हिमपातको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाले आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै ‘अलर्ट’ जारी गरेको छ।

भारी वर्षाका कारण ती क्षेत्रमा हुन सक्ने बाढी, पहिरो र गेग्र्यान बहावको जोखिमलाई मध्यनजर गर्दै नदी तटीय क्षेत्र र भिरालो जमिन आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।