बैतडीमा बस दुर्घटना: घाइतेको सङ्ख्या २० पुग्यो, तीन जनाको अवस्था गम्भीर

बैतडी, १९ असार । बैतडीको पाटन नगरपालिका–८ गैराखानमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा घाइते हुनेको सङ्ख्या २० पुगेको छ। धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सु.प.प्र. ०१–००१ ख ३९६३ नम्बरको बस दिउँसो ३:३० बजे सडकबाट करिब १०० मिटर तल खसेको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दुर्घटनामा परी तीन जना यात्रु गम्भीर घाइते भएका छन्। गम्भीर घाइते हुनेहरूमा पाटन–६ का ३१ वर्षीय दीपक विक, पाटन–८ का अन्दाजी ६० वर्षीय पुरुष र परिचय नखुलेकी अन्दाजी ५५ वर्षीया महिला रहेका छन्। उनीहरूको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सेनाले घाइतेहरूको उपचार र अवस्थाबारे जानकारी दिँदै भन्नुभयो, “अहिलेसम्म २० जना घाइतेको विवरण आएको छ। जसमध्ये ९ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते २ जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ।” बाँकी ९ जना घाइतेलाई पनि उपचारका लागि डडेल्धुरातर्फ पठाइएको उहाँले बताउनुभयो।

बस सडकबाट किन र कसरी खस्यो भन्नेबारे अझै खुल्न सकेको छैन। “दुर्घटनाको कारणबारे हामीले अनुसन्धान सुरु गरेका छौँ,” प्रहरी निरीक्षक तिमिल्सेनाले भन्नुभयो। वर्षाका कारण सडक चिप्लो भएको वा प्राविधिक गडबडीले दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

दुर्घटना लगत्तै स्थानीय बासिन्दा र प्रहरीको टोली उद्धारमा खटिएका थिए। भौगोलिक विकटताका कारण उद्धार कार्यमा केही कठिनाइ भएको थियो।