इरानका दिवंगत सर्वोच्च नेता खामेनीको अन्तिम संस्कारमा १ करोड मानिस सहभागी हुने अपेक्षा, शोकमा डुब्यो तेहरान
तेहरान (एजेन्सी) । अमेरिका र इजरायलको संयुक्त आक्रमणमा मारिएका इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्तिम संस्कारमा सहभागी हुन राजधानी तेहरानमा १ करोडभन्दा बढी मानिसको जनसागर ओर्लिने अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार यस ऐतिहासिक अन्तिम संस्कारमा विश्वका १०० भन्दा बढी देशका प्रतिनिधिहरूले समेत सहभागिता जनाउँदैछन् ।
इरानमाथि अमेरिका र इजरायलले युद्धको घोषणा गर्दै गरेको प्रारम्भिक आक्रमणमा खामेनी र उनका परिवारका सदस्यहरू मारिएका थिए । उक्त घटनापछि मध्यपूर्वमा तनाव उत्कर्षमा पुगेको छ ।
परिवारका अन्य सदस्यको पनि सामूहिक अन्तिम संस्कार
दिवंगत अली खामेनीसँगै उनका परिवारका अन्य सदस्यहरूको पनि अन्तिम संस्कार गरिँदैछ । आक्रमणमा खामेनीका ज्वाइँ, जेठी छोरी, १४ महिनाकी नातिनी र वर्तमान सर्वोच्च नेता मुज्तबा खामेनीकी पत्नीको समेत मृत्यु भएको थियो । एउटै परिवारका वरिष्ठ सदस्यहरूको हत्याले इरानलाई गहिरो शोकमा धकेलेको छ ।
नयाँ सर्वोच्च नेता मुज्तबाको उपस्थितिमा अन्योल
आफ्नो पिताको निधनपछि इरानको तेस्रो सर्वोच्च नेताको रूपमा कार्यभार सम्हालेका मुज्तबा खामेनी अन्तिम संस्कारमा उपस्थित हुने वा नहुने भन्ने विषयमा अझै अन्योल कायमै छ । मुज्तबा सोही आक्रमणमा गम्भीर घाइते भएको रिपोर्टहरू सार्वजनिक भएका छन् ।
अर्कोतर्फ, इजरायलले मुज्तबालाई पनि मार्ने धम्की बारम्बार दिइरहेका कारण उनको सुरक्षा संवेदनशीलता बढेको छ । यसैबीच इरानको संयुक्त सैन्य कमान्डले इजरायल र अमेरिकालाई चेतावनी दिँदै अन्तिम संस्कारको समयमा कुनै पनि प्रकारको “गलत कदम वा उत्तेजना” नदेखाउन चेतावनी दिएको छ ।
क्षेत्रीय तनाव र मानवीय क्षति
इरान र इजरायलबीचको यो सिधै द्वन्द्वसँगै अन्य क्षेत्रहरूमा पनि हिंसा चर्किएको छ । लेबनानसँग युद्ध अन्त्य गर्ने सम्झौताको ढाँचामा सहमति भए तापनि इजरायलले दक्षिण लेबनानका विभिन्न स्थानमा आक्रमण जारी राखेको छ । इजरायलले हिजबुल्लाहको संरचनालाई लक्षित गरेको दाबी गरे पनि लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च २ यता इजरायली आक्रमणमा परी ४ हजार ३०१ जनाको मृत्यु भइसकेको छ भने १२ हजारभन्दा बढी घाइते भएका छन् ।
यस्तै, अधिनस्थ वेस्ट बैंकमा पनि इजरायली बसोबासकर्ताहरूले प्यालेस्टाइनीहरूमाथि आक्रमण तीब्र पारेका छन् । टुबास, हेब्रोन र रामल्लाह आसपासका क्षेत्रमा हिंसात्मक झडप र आक्रमणका घटनाहरू रिपोर्ट गरिएका छन् ।
इरानका सर्वोच्च नेताको हत्यापछि सुरु भएको यो शृङ्खलाबद्ध द्वन्द्वले विश्व राजनीति र मध्यपूर्वको सुरक्षा अवस्थालाई थप अनिश्चित बनाएको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन् ।