रावा इनर्जिको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडाैं, २२ जेठ । गत जेठ १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले आईपीओमा आवेदन दिने आज (जेठ २२ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले जारी पूँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ८ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ४० हजार कित्तामध्ये ५६ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरु तथा २ लाख ८० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको थियो।

सोमध्ये ८७ हजार ६७० कित्ता शेयर बाँडफाँट गरिएको थियो भने १ लाख ९२ हजार ३३० कित्ता शेयर बाँकी रहेको थियो। सर्वसाधारणलाई निष्काशन गर्ने शेयरमा सो शेयर थप गरी कुल ६ लाख ९६ हजार ३३० कित्ता शेयर निष्काशनमा ल्याउन लागेको हो।

निष्काशन गरिने कुल शेयरमध्ये १५ हजार ४७ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि र ३७ हजार ६१६ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ। लगानीकर्ताले बाँकी रहेको ६ लाख ४३ हजार ६६७ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *