फ्लाई दुबईको नियमित उडानसँगै पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा नयाँ आशा
दुबई-पोखरा-दुबई नियमित व्यावसायिक अन्तरराष्ट्रिय उडान सुरु
काठमडाौँ, असोज ७ । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट आजदेखि दुबई-पोखरा-दुबई नियमित व्यावसायिक अन्तरराष्ट्रिय उडान सुरु भएको छ । फ्लाई दुबईको जहाज दुबई अन्तरराष्ट्रिय विमानस्थलबाट उडेर आज साँझ ६ः१९ बजे पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
एक सय १३ यात्रु बोकेर आएको बोइङ ७३७ म्याक्स जहाजलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो । यात्रुको स्वागतका लागि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित सरकारी अधिकारी तथा पर्यटन क्षेत्रसँग सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधि विमानस्थलमा उपस्थित हुनुहुन्थ्यो ।
नियमित उडान तालिकाअनुसार फ्लाई दुबईको जहाज आजै साँझ ७ः१५ बजे एक सय ५३ यात्रु लिएर पोखराबाट दुबईका लागि प्रस्थान गर्ने महाप्रबन्धक निरौलाले बताउनुभयो । यसअघि केही वायुसेवा कम्पनीले पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सुरु गरे पनि ती उडान नियमित हुन नसकेकामा फ्लाई दुबईको नियमित सेवाले विमानस्थलको अन्तरराष्ट्रिय उडान सञ्चालनमा नयाँ आशा जगाएको उहाँको भनाइ छ ।
पोखरा–दुबई नियमित उडानबाट पोखरासहित गण्डकी प्रदेशका यात्रुलाई दुबई हुँदै युरोप, अमेरिका तथा अन्य अन्तरराष्ट्रिय गन्तव्यमा पुग्न सहज हुने अपेक्षा गरिएको छ। सीधा उडानका कारण यात्राको समय र खर्चसमेत घट्न सक्ने भएकाले वैदेशिक रोजगारी, अध्ययन, व्यवसाय तथा भ्रमणका लागि विदेश जाने यात्रुलाई सेवा उपयोगी हुने देखिएको छ ।
यसैगरी, पोखरा पर्यटकीय राजधानीका रूपमा रहेकाले नियमित अन्तरराष्ट्रिय उडानबाट विदेशी पर्यटकलाई समेत सिधै पोखरा आउन सहज हुनेछ। पोखरा तथा आसपासका पर्यटकीय गन्तव्यमा विदेशी पर्यटकको पहुँच बढाउन र पर्यटन गतिविधि विस्तार गर्न उडान सेवाले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सन् २०२३ जनवरीदेखि सञ्चालनमा आएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडान हुन सकेको थिएन। सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा विमानस्थलमा अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने उल्लेख गरेको थियो । त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठ २५ गते फ्लाई दुबईलाई दुबई-पोखरा-दुबई उडानका लागि अनुमति दिएको हो ।
अन्तरराष्ट्रिय उडानका लागि वायुसेवा कम्पनीलाई आकर्षित गर्न सरकारले पोखरा विमानस्थलमा लाग्ने विभिन्न शुल्कमा छुटसमेत दिएको छ । विसं २०८५ भदौ मसान्तसम्म विमानस्थलको पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट गरिएको छ भने ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ ।
फ्लाई दुबईको निर्धारित तालिकाअनुसार जहाज प्रत्येक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण गर्ने र ७ः१५ बजे पोखराबाट दुबईका लागि प्रस्थान गर्नेछ । विश्वव्यापी हवाई ट्रान्जिट हबका रूपमा रहेको दुबईसँग पोखरालाई सीधा हवाई सम्पर्कमा जोडिएसँगै पोखरा अन्तरराष्ट्रिय हवाई सञ्जालमा थप प्रत्यक्ष रूपमा जोडिएको छ । फ्लाई दुबईले हाल विश्वका एक सय २० भन्दा बढी गन्तव्यमा उडान गर्दै आएको छ ।
फ्लाई दुबई र इमिरेट्स एयरलाइन्सबीचको रणनीतिक कोडसेयर साझेदारीअन्तर्गत पोखरा-दुबई उडान सञ्चालन हुने जनाइएको छ। यसबाट पोखराबाट अष्ट्रेलिया, युरोप, अमेरिका तथा अन्य अन्तरराष्ट्रिय गन्तव्यमा जाने यात्रुले एउटै टिकटमार्फत यात्रा गर्न सक्ने र दुबईमा उडान परिवर्तन गर्दा यात्रामा सहजता हुने बताइएको छ ।
