तीन दिनको वृद्धिपछि नेप्से घट्यो, १३ वटै उपसमूह ओरालो
काठमाडौँ, ७ असोज । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर बढिरहेको नेप्से बुधबार भने घटेर बन्द भएको हो।
बुधबार नेप्से परिसूचक ३६.२५ अङ्कले घटेर २६१८.०३ बिन्दुमा झरेको छ। त्यस्तै सेन्सेटिभ इन्डेक्स ६.३३ अङ्क, फ्लोट इन्डेक्स २.६० अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स २.१९ अङ्कले घटेका छन्।
यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात् मङ्गलबार ७ अर्ब पाँच करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा बुधबार ३५२ स्टकको ५७ हजार ९४७ पटकको कारोबारमा ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँ बराबरको दुई करोड १६ लाख २२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
धौलागिरि लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य १७५ रुपैयाँले बढेर एक हजार ३४१.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ। अन्य स्टकको मूल्यवृद्धिदर भने साढे ५ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ८.५४ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ, जसको ३८ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यस्तै रिलायन्स स्पिनिङ मिल्सको २१ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको कारोबार रकम साढे २० करोड रुपैयाँ नाघेको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ, जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.०४ प्रतिशतले घटेको छ। त्यस्तै बैंकिङ, विकास बैंक, वित्त, जलविद्युत्, लगानी, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
