नेप्से ११.७७ अंकले बढ्यो, कारोबार रकम घटेर ५ अर्ब ४४ करोड
काठमाडौं, ८ असोज । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ११.७७ अंकले बढेर २ हजार ६२९ अंकमा पुगेको छ ।
नेप्से बढे पनि बजारमा कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ६ अर्ब ३५ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ५ अर्ब ४४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज कारोबार भएका कम्पनीमध्ये १७६ कम्पनीको सेयर मूल्य बढेको, ९५ कम्पनीको घटेको र ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।
समूहतर्फ उत्पादन तथा प्रशोधन समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । उक्त समूहको सूचक १.८३ प्रतिशतले बढेको छ । नेपाल ल्युब आयल, सोनापुर मिनरल्स, घोराही सिमेन्ट र पाल्पा सिमेन्टलगायत कम्पनीको सेयर मूल्य बढेपछि उत्पादन तथा प्रशोधन समूहको सूचक उकालो लागेको हो ।
निर्जीवन बीमा समूहबाहेक सबै समूहगत सूचक बढेका छन् । निर्जीवन बीमा समूह ०.३३ प्रतिशतले घट्दा बैंकिङ ०.४६, विकास बैंक ०.०१, फाइनान्स ०.१०, होटल तथा पर्यटन ०.१३, जलविद्युत् ०.१३, लगानी ०.०८, जीवन बीमा ०.७०, माइक्रोफाइनान्स ०.६१, अन्य ०.०४ र व्यापार समूह ०.९७ प्रतिशतले बढेका छन् ।
बिहीबार नेपाल ल्युब आयलको सेयर मूल्य १२.४७ प्रतिशतले बढेको छ । सोनापुर मिनरल्स ७.६५, घोराही सिमेन्ट ७.०७, सीवाईसी लघुवित्त ६.४७, उन्नति सहकार्य लघुवित्त ४.६७, पाल्पा सिमेन्ट ३.६० र त्रिशूली जलविद्युत्को मूल्य ३.०४ प्रतिशतले बढेको छ ।
यता मिड सोलु हाइड्रोपावरको सेयर मूल्य ११.५८ प्रतिशतले घटेको छ । धौलागिरि लघुवित्त १०.९८ र हाथवे इन्भेस्टमेन्टको मूल्य ३.४३ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अगाडि रहेको छ । त्यसपछि हिमालयन डिस्टिलरी, सानिमा मिडिल तमोर, रिलायन्स स्पिनिङ मिल्स, सोनापुर सिमेन्ट, नबिल बैंक प्रमोटर र लक्ष्मी सनराइज बैंक रहेका छन् ।
