प्रजनन केन्द्रमा कोरलिन थाले गोहीको बच्चा

चितवन, २८ जेठ । राष्ट्रिय निकुञ्ज चितवनमा रहेकाे गोही प्रजनन केन्द्रमा  २० वटा गोहीका बच्चा कोरलिएका छन् । केन्द्रको गुँड नम्बर २ मा राखिएको ३७ वटा अण्डामध्येबाट बीस वटालाई प्रयोगशाला कक्षको इन्कुबेटरमा राखेर ३२ डिग्री तापक्रममा बच्चा जन्माइएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार ती अण्डाबाट जेठ २४ गते ती बच्चा कोरलिएका हुन् । केन्द्रले वैशाख ८ गते राप्ती नदीको सीतामाइदेखि सौराहासम्म आठ वटा गुँडबाट दुई सय ४२ वटा अण्डा सङ्कलन गरेको थियो ।

ती अण्डा केन्द्रमा बच्चा जन्माउनका लागि राखिएको थियो । तीमध्ये २० वटा गोहीको बच्चा कोरलिएको तिवारीले जानकारी दिनुभयो । अन्य अण्डाबाट समेत बच्चा कोरल्ने प्रक्रिया भइरहेको उहाँले बताउनुभयो ।

प्रजनन केन्द्रका तीन वटा गुँडमा गोहीले अण्डा पारेको छ । उहाँका अनुसार गत दुईवर्ष प्रजनन केन्द्रका अण्डाबाट बच्चा कोरलिएको छैनन् । प्रजनन केन्द्रमा गोहीको सङ्ख्या बढी भएपछि यसवर्ष अण्डा थोरै मात्र सङ्कलन गरिएको हो ।

गोही प्रजनन केन्द्र हेर्दै आउनु भएका सहायक संरक्षण अधिकृत सान्तबहादुर मगरका अनुसार गत वर्ष पाँच ६३ वटा अण्डा सङ्कलन गरिएको थियो । ती अण्डाबाट चार सय ९६ बच्चा कोरलिएका थिए ।

यसरी कोरलिएका बच्चा बचाउन निकै जटिल हुने गर्दछ । हालसम्म आइपुग्दा तीमध्ये तीन सयको हाराहारीमा मात्रै जीवित छन् । मगरले प्रजनन केन्द्रमा छ सय ४० साना ठूला गोही रहेको भन्दै यसवर्ष थोरै मात्र अण्डा सङ्कलन गरिएको बताउनुभयो ।

पछिल्ला दिनमा अन्य नदीमा संरक्षण हुन नसकेपछि अधिकांश गोही राप्ती र नारायणीमा मात्रै छोडिदै आएको छ । नारायणी र राप्तीमा छाडिएका गोही पनि वर्षाको समयमा भारत पुग्ने र बाँधका कारण पुनः फर्किएर नआउने समस्या रहेको छ ।