शव नभेटिएपछि कुशको प्रतीक बनाएर बाढीमा बेपत्ताको सामूहिक अन्त्येष्टि

काठमाडौँ, १७ भदौ । रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका व्यक्तिहरू जीवितै भेटिने आशा टरेपछि परिवारजनले बुधबार पशुपति आर्यघाटमा प्रतीकात्मक अन्त्येष्टि गरेका छन्। बाढी आएको आठ दिन बितिसक्दा पनि आफ्ना प्रियजनको कुनै अत्तोपत्तो नपाएपछि पीडित परिवारले हिन्दू परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरेका हुन्।

बुधबार दिनभरजसो पशुपति क्षेत्रमा बाढीमा आफन्त गुमाएकाहरूको भिड लागेको थियो। आफ्ना मान्छेको वास्तविक शव समेत देख्न नपाएका दर्जनौँ परिवारले कुशबाट मानव स्वरूपको आकृति तयार पारी दागबत्ती दिएका थिए।

पशुपतिस्थित शव दर्ता कार्यालयका कर्मचारी अनिश सङ्गतका अनुसार बुधबार मात्रै आर्यघाटमा कम्तीमा एक सयभन्दा बढी कुशका शवको सामूहिक अन्त्येष्टि गरिएको छ। “कुशका शवको हामीले छुट्टै रेकर्ड त राख्दैनौँ, तर आज बाढीमा हराएकाहरूको सम्झनामा प्रतीकात्मक शव जलाउनेहरूको ठुलो लस्कर थियो,” उहाँले भन्नुभयो।

लामो समयको प्रतीक्षा र खोजीपछि पनि कुनै जानकारी प्राप्त नभएपछि परिवारजनले धार्मिक संस्कार पुरा गरेर मनलाई शान्त पार्ने प्रयास गरेका हुन्। नुवाकोटका बबिन रिजालले आफ्ना बेपत्ता बुबा नाथ रिजाल र आमा विनिता रिजालको कुशको शव बनाएर अन्त्येष्टि गर्नुभएको छ। भावविह्वल अवस्थामा भेटिनुभएका बबिनले भन्नुभयो, “बाढीमा बगेको लामो समय भयो, बुवा-आमाको अवस्था कतै खुल्न सकेन। अब जीवितै भेटिनुहुन्छ भन्ने आशा मरिसक्यो, त्यसैले आज कुशको शव बनाएर पशुपतिमा अन्तिम बिदाइ गरेका छौँ।”

आर्यघाटमा कुशबाट तयार पारिएका प्रतीकात्मक शव जलाउँदा आफन्तजनको रुवाबासीले वातावरण निकै मर्माहत बनेको थियो। कसैले कुशको शव बोकेर घाटसम्म ल्याएका थिए भने कसैले पण्डितमार्फत अन्तिम कर्मकाण्ड पुरा गरिरहेका थिए।

भदौ १० गतेको अचानकको बाढीले रसुवा, नुवाकोट र धादिङ लगायतका क्षेत्रमा ठुलो मानवीय क्षति पुर्‍याएको थियो। सुरक्षा निकायले खोजी कार्य जारी राखे पनि ठुलो सङ्ख्यामा मानिसहरू अझै बेपत्ता छन्। शव फेला नपरेका कारण मृत्युको औपचारिक पुष्टि हुन नसकेको अवस्थामा आफन्तहरूले यो ‘काजकिरिया’ को बाटो रोजेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *