ढोरपाटन सिकार आरक्षबाट अवैध हतियार बरामद

बागलुङ, १७ असार । ढोरपाटन सिकार आरक्षबाट अवैध हतियार बरामद गरिएको छ ।

आरक्षबाट सिकार खेल्नेले लुकाएर राखेकाका हतियार, बारुद, सिसालगायत सामग्री बरामद गरिएको हो ।

ढोरपाटनमा बेलाबेला वन्यजन्तुको अवैध चोरी–सिकार हुँदै आएको छ । विभिन्न समयमा बरामद गरिएका हतियार बागलुङस्थित जिल्ला सुरक्षा समितिलाई बुझाइएको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्दप्रसाद कँडेलले जानकारी दिनुभयो ।

एक थान एसएलआर राइफल र आठ थान भरुवा बन्दुक बरामद गरिएको हो । ती सबै हतियार रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा पर्ने आरक्ष क्षेत्रबाट बरामद गरिएका हुन् ।

पछिल्ला तीन वर्षमा आरक्षले दुई घोरल र एक नाउरको छालासहित पक्राउ परेका अवैध सिकारीलाई पक्राउ गरी मुद्दा चलाएको छ । जडीबुटी र काठको चोरी–सिकारमा संलग्न १६ जनालाई कारबाही गरिएको छ ।

आरक्षमा बर्सेनि दुई याममा नाउर र झारलको वैधानिक सिकार हुँदै आएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकार कम्पनीबीच प्रतिस्पर्धा गराई सिकारको अनुमति दिने गर्छ ।