सत्ता बाँडफाँटमा काँग्रेस—माओवादीभित्र रडाको,सहमतीय सरकार नबन्ने

deuba-dahal
काठमाडौँ । मन्त्रीका आकांक्षी धेरै भएपछि कांग्रेस र माओवादी नेतृत्वलाई सत्ताको बाँडफाँट चुनौतीपूर्ण बनेको छ । दुवै पार्टीको नेतृत्व मन्त्रालय बाँडफाँटको विषयमा आन्तरिक तयारीमा जुटिरहेका बेला यो विषयमा विवाद देखिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापित भएपछि बन्न लागेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा सरकारमा कुन मन्त्रालयको जिम्मेवारी कसले लिने भन्नेमा दुवै दलमा आन्तरिक विवाद तीव्र भएको छ।
कांग्रेस र माओवादी नेताहरूबीच यसअघि भएका छलफलमा प्रधानमन्त्रीसहित आठ मन्त्रालय माओवादी नेतृत्वमा रहने सहमति बनेको छ। १३ वटा मन्त्रालय कांग्रेसले पाउने छ। अहिले रहेका ३० वटा मन्त्रालयलाई प्राथमिकता र महत्वका आधारमा वर्गीकरण गरी दुई दलले बाँडफाँट मिलाउने तयारी गरिरहेका छन् ।
सहमतीय सरकार गठनका निम्ति राष्ट्रिपति विद्यादेवी भण्डारीले साउन १६ गतेसम्म समय दिनु भएको छ । । सहमतीय सरकार गठनको सम्भावना नरहेकाले बहुमतीय सरकार गठन हुने प्रायः निश्चित छ। तैपनि दाहालले सहमतीय सरकार बनाउन पहल गर्ने र त्यसका लागि नेकपा एमालेसँग कुराकानी गर्ने बताउनुभएको छ । तर अहिलेको अवस्थामा एमालेले सरकारमा नजाने जनाउ दिइसेकेको छ ।

राष्ट्रपतिले दिएको समयसिमामा दलहरूबीच सहमति हुने सम्भावना नभएको अवस्थामा सभामुखले साउन १७ गते बस्ने संसद बैठकमा बहुमतको सरकार गठनका लागि संसद सचिवालयका महासचिवको संयोजकत्वमा निर्वाचन कार्यक्रम बनाउनुहुनेछ ।
सम्भवतः १८ गते प्रधानमन्त्रीको मनोनयन दर्ता तथा १९ गते संसदमा नयाँ प्रधानमन्त्रीको चयन हुनेछ ।