नेपाल भलिबलको मैत्रीपूर्ण खेलमा पराजित

maitrinews

काठमाडौँ, १४ साउन । नेपाली राष्ट्रिय महिला भलिबल टोलीले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल लगातार गुमाएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्र्यि खेलकुद परिषदको कभर्ड हलमा आज भएको दोस्रो खेलमा नेपाल–भारतसँग २६–२४, २५–२०, २५–१९ को सोझो सेटमा पराजित भएपछि मैत्रीपूर्ण सिरिज २–० ले गुमाएको हो । एक दिनअघि अर्थात बिहीबार भएको पहिलो खेलमा पनि भारतले नेपाललाई २५–२०, २५–१९ तथा २७–२५ ले लगातार पराजित गरेको थियो ।

पराजयका बाबजुद पनि नेपाली टोलीका प्रशिक्षक सुदेशकुमार रिमालले भने नेपाली टोलीको प्रदर्शनबाट आफू सन्तुष्ट भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले अनुभव बढाएका छौँ, आगामी दिनमा हाम्रा खेलाडीले राम्रो खेल प्रदर्शन गर्नेछन् भन्ने मेरो आशा छ, हारजीत जे भए पनि स्तरीय भारतीय टोलीसँगको खेलले हाम्रो स्तर बढाउन सहयोग गरेको छ ।”

यसअघि नेपाल र भारतले १२औँ दक्षिण एसियाली खेलकुद (साग)मा खेलेका थिए । स्वर्ण जितेको भारतले नेपाललाई सोझो सेटमा हराएको थियो ।