पहिरोका कारण म्याग्दीमा खानेपानीको हाहाकार

maitrinews

 

pahiro
म्याग्दी । सदरमुकाम बेनीमा नौ दिनदेखि खानेपानीको हाहाकार भएको छ ।
बेनीमा खानेपानी वितरण हुँदै आएको आयोजनाको पाइप लाइनका ठाउँ ठाउँमा पहिराले पाइप फुटाएपछि खानेपानी आपूर्ति बन्द भएको हो । बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले राम्चे गाविसस्थित पुम्दीखोला र भकिम्ली गाविसको दूधेखोलाबाट पानी ल्याएर सदरमुकाम बेनीसहित बगरफाँट र मङ्गलाघाट क्षेत्रका ९५० घरमा खानेपानी आपूर्ति गर्दै आएको छ ।

वर्षाका कारण झरेको पहिराले विभिन्न स्थानमा पाइप फुटेपछि सो क्षेत्रमा खानेपानी वितरण ठप्प बनेपछि उपभोक्ता समस्यामा परेका छन् । खानेपानी आपूर्ति बन्द भएपछि सदरमुकामवासीको दैनिकी नै कष्टकर बनेको छ । पुम्दीखोलाको मुहानदेखि केही तल चार ठाउँमा पाइप भाँचिएको तथा चमेरे र राहुपारेमा पाइप बगाइदिएको छ ।

बेनीदेखि गलेश्वरका बीचमा दुई स्थानमा पाइप फुटेको छ । दूधेखोलामा भकिम्ली–९ तोराखेतबाट झरेको पहिराले पाइपमा क्षति पु¥याएको बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठले बताउनुभयो ।

उहाँले पहिराले दर्जन बढी स्थानमा पाइपमा क्षति पु¥याएपछि समितिले मर्मतको काम गरिरहे पनि पहिराका कारण मर्मतसम्भारमा कठिनाइ भएको बताउनुभयो । दुवै मुहानबाट ल्याइएको पानी बेनीबजारभन्दा माथि बराहपाखो सामुदायिक वनमा निर्माण गरिएको ट्यांकीमा जम्मा गरी वितरण हुँदै आएको थियो ।

उपभोक्ता समितिका प्रबन्धक चन्द्रबहादुर थापाले पहिराले पाइप लाइन बिगारेका ठाउँमा पोलिथिन पाइप जडान गरेर भए पनि खानेपानी आपूर्ति सहज गराउन लागिएको जानकारी दिनुभयो ।
साउन १८ गते ।