‘अबिरल यात्रा–२०७२ यादव खरेल’

maitrinews

काठमाडौँ, २३ साउन । गीतकार तथा चलचित्र निर्देशक यादव खरेलले रचना गर्नुभएको गीतहरुको एकल साङ्गीतिक कार्यक्रम ‘अबिरल यात्रा–२०७२ यादव खरेल’ यही साउन ३१ र ३२ गते गरिने भएको छ ।

सर्वनाम थियटरमा आज आयोजित ‘नेपाली सुगम सङ्गीत विगत र वर्तमान’ अन्तक्र्रिया कार्यक्रममा हिडन ट्रेजरले आर्मी अफिसर्स क्लबमा उक्त कार्यक्रम गर्ने जानकारी दिइयो । उक्त कार्यक्रममा गीतकार खरेलले रचना गर्नुभएका ५४÷५५ वर्षअघिका पुराना गीत प्रस्तुत हुनेछन् ।

ती गीतलाई नयाँ सङ्गीतकारको सङ्गीत र गायक गायिकाले गाउनेछन् । जसमा सङ्गीतकारमा राजु सिंह र गायक गायिकामा लोचन भट्टराई, सत्यराज आचार्यलगायत रहेका छन् ।

गीतकार खरेलले २०१६ सालदेखि आफूले गीत लेखन सुरु गरेको बताउँदै त्यतिबेलादेखि अहिलेसम्म पनि गीतका गायक÷गायिकालाई सबैले याद गर्ने भए पनि गीतकारलाई भने ध्यान नदिने प्रवृत्ति नहटेको बताउनुभयो ।

उहाँले एउटा गीत रेकर्डिङ गर्न भारतको कोलकता पुग्नुपर्ने र वर्षौपछि गीत गाउने पालो आयो भने गायक÷गायिका खुसी हुनुपर्ने, कोही एक जनाले केही बिगारे पुरै गीत दोहो¥याएर गाउनुपर्ने अवस्था रहेको विगत स्मरण गर्नुभयो । त्यो अवस्था अहिले नरहेको बताउँदै उहाँले भन्नुभयो, “अहिले त्यसको स्वरुप, संरचनामा आमूल परिवर्तन आइसकेको छ । प्रविधिले अहिले त्यस्तो झन्झटिलो अवस्थाबाट पार लगाइसकेको छ ।”

सङ्गीतकार राजु सिंहले साहित्य र सङ्गीत एक अर्काबिना बाँच्न नसक्ने र यी दुई एकअर्काको परिपुरक रहेको बताउँदै सिर्जना गर्दा जहिले पनि सकारात्मक सोच राख्नुपर्नेमा जोड दिनुभयो ।

गायिका लोचन भट्टराईले पुराना स्रष्टाले सिर्जना गरेका साधना कुनै निश्चित कालखण्डका लागि मात्र हुने जस्तो अहिले देखिएकाले तिनको संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याउँदै गायनका क्रममा शब्द उच्चारणमा विशेष ध्यान दिन गायक÷गायिकालाई आग्रह गर्नुभयो ।

गायक सत्यराज आचार्यले सो कार्यक्रममा उदितनारायण झाका पुराना गीत गाउने तय भएकाले कतै उदित नारायणको गीत ‘कपी’ पो हुने हो की भन्ने प्रश्नमा उहाँले जवाफ दिँदै भन्नुभयो, “आफ्ना पिता भक्तराजको आवाज त मेरो आवाजमा नमिलोस् भन्ने चाहन्छु भने उदित नारायणको आवाज किन मिलाउँ ?”

हिडन ट्रेजरका अध्यक्ष गोपाल कक्षपतिले करिब छ वर्षअघि नै सो कार्यक्रम गर्ने योजना रहेपनि यसैवर्ष मात्र उक्त कार्यक्रम गर्न लागिएको र कार्यक्रममा भिडियोग्राफी गरी सङ्ग्रह गरिनुका साथै गीतकार खरेलको बायोग्राफीसमेत निकाल्ने जानकारी दिनुभयो । रासस