संस्कृतको उत्तरमध्यमा तह नहटाउन माग

maitrinews

 

nepal saskrit
काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयबाट उत्तरमध्यमा प्रमाण–पत्र तह हटाउन नहुनेमा सरोकारवालाले जोड दिनुभएको छ ।
नेपाल प्राध्यापक सङ्घ, वाल्मीकि विद्यापीठले यहाँ आयोजना गरेको ‘उत्तरमध्यमा विस्थापनका समस्या र समाधान’ विषयक विचार गोष्ठीमा सहभागीले उत्तरमध्यमा हटाउन नहुनेमा जोड दिनुभएको हो ।
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाले संस्कृत विद्यालय दश जोड दुईमा गइनसकेकाले तत्काल उत्तरमध्यमा विस्थापन गर्दा समस्या हुने बताउनुभयो । “विश्वविद्यालयलाई थप व्यवस्थित गर्ने, योग, आयुर्वेदजस्ता विषयलाई थप गरी पूर्वाधार पूरा गरेकालाई अध्यापनका लागि सम्बन्धन दिनेजस्ता कार्यलाई प्राथमिकतामा राखिएको छ”, उहाँले भन्नुभयो ।
कार्यपत्र प्रस्तुत गर्दै शिक्षाविद् विद्यानाथ कोइरालाले पूर्वमध्यमा ९प्रवेशिका०लाई पनि विश्वविद्यालयको अङ्ग बनाई संस्कृत भाषाको अध्ययन सहज पारिनुपर्ने सुझाव दिनुभयो ।
कार्यपत्रमाथि टिप्पणी गर्दै प्राध्यापक पुरुषोत्तम दाहाल, माधव शर्मा, नीलमणि ढुङ्गाना, ध्रुव भट्टराई, चेतमणि न्यौपाने लगायतले संस्कृत भाषाको मौलिक र शास्त्रीयस्वरुप कायम राख्न पनि उत्तरमध्यमा विस्थापन गर्न नहुनेमा जोड दिनुभयो ।
विश्वविद्यालयका १३ आङ्गिक विद्यापीठमा संस्कृत माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका र साधारण माविबाट प्रवेशिका उत्तीर्ण गरी छ महिने भाषा प्रशिक्षण उत्तीर्ण गरेकाले संस्कृतका शास्त्रीय विषयमा उत्तरमध्यमा अध्ययन गर्दै आएका छन् ।