पाटनको पञ्चदान सम्पन्न

maitrinews

 

काठमाडौँ, २८ साउन । बौद्ध धर्मावलम्बीको महत्वपूर्ण उत्सव पञ्चदान बिहीबार ललितपुरको बालकुमारीमा मनाइएको छ । काठमाडौंमा भने उक्त पर्व अर्कै दिन मनाउने गरिन्छ ।

धर्मावलम्बीले विशेषगरी दीपङ्कर तथागतदेखि शाक्यमुनि बुद्धलाई स्मरण गर्दै भिक्षुहरुलाई अन्न, ज्ञान, फलफूल, सर्वत र द्रव्य दान गरे ।

अन्नका प्रतीकका रुपमा चामल, धान, जौ, मकै र गेडागुडी पर्छ । ज्ञानका रुपमा किताब, कपी, कलमल गायत सामग्री छन् । मौसमी फलफूलमा काँक्रो, केरा, नासपाती दान गरिन्छ । सर्वतका रुपमा सख्खर दान गर्नुपर्ने मान्यता छ । द्रव्यका रुपमा गच्छे अनुसार रुपैयाँ, पैसा तथा जमिन दान गरिन्छ ।

अखिल नेपाल भिक्षु महासङ्घका महासचिव भिक्षु कौडण्यका अनुसार पञ्चदान गर्दा दीपङ्कर तथागत चौथो बुद्धदेखि शाक्यमुनि बुद्धसम्मका २८औँ बुद्धलाई स्मरण गरिने पाली साहित्यमा जनाइएको छ । पञ्चदानमा सहभागी भएमा धर्म सञ्चय भई भय र बाधा हट्ने विश्वास छ । काठमाडौँ र भक्तपुरमा केही सातापछि सो पर्व मनाइने छ । यस वर्ष उक्त स्थानमा ‘नदां महादान’ समेत गरिएको छ ।