‘हाम्रो नागरिकता फिर्ता लिनुहोस् र हाम्रै अगाडि च्यातिदिनुहोस्’ : वडाको सार्वजनिक सुनुवाइमा सुकुम्बासीको दर्दनाक आक्रोश
काठमाडौँ, असार २२ । ‘सामान्य जीवन बाँच्न नदिने भए हाम्रो नागरिकता फिर्ता लिनुहोस् र हाम्रै अगाडि च्यातिदिनुहोस् !’ काठमाडौँ महानगरपालिका वडा नं. ११ ले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा नदी किनाराबाट विस्थापित भएका एक व्यक्तिले व्यक्त गरेको यो आक्रोशपूर्ण भनाइले हलमा केही बेर सन्नाटा छायो । सरकारले विकल्पबिना बस्ती हटाएर आफूहरूलाई ‘होल्डिङ सेन्टर’ मा राखेको भन्दै उनीहरूले राज्यले आफ्नो पहिचान नै मेटाउनुपर्ने मागसहित जनप्रतिनिधिसामु कडा प्रतिरोध गरे ।
वडा नं. ११ ले चालु आर्थिक वर्षको समीक्षा र आगामी योजना तर्जुमाका लागि आयोजना गरेको उक्त कार्यक्रममा विस्थापितहरूको यो पीडा प्रमुख मुद्दा बन्यो । सुकुम्बासीहरूको आक्रोशलाई सम्बोधन गर्दै वडाध्यक्ष हीरालाल तण्डुकारले आफूहरू सरकारको प्रतिपक्ष बन्न नसक्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “सरकारले लिएका नीति र योजनाहरूको विपक्षमा जनप्रतिनिधि उभिन मिल्दैन, तर हामी समस्याको उचित र न्यायोचित समाधानका लागि आवश्यक समन्वय गरिरहेका छौँ ।”
निर्माणभन्दा ‘विकास व्यवस्थापन’ को माग
सुनुवाइमा सहभागी अन्य वडावासीले भौतिक निर्माणभन्दा पनि ‘विकास व्यवस्थापन’ मा जोड दिनुपर्ने माग राखेका छन् । सडक र ढल बने पनि त्यसको उचित व्यवस्थापन नहुँदा सास्ती खेप्नु परेको उनीहरूको गुनासो थियो । “सडक बनेको छ तर निर्माण सामग्रीले बाटो थुनिएको छ, पाइप बिछ्याइएको छ तर पानी आउँदैन, ढल छ तर क्षमता कम हुँदा बर्खामा सडक नै जलमग्न हुन्छ,” सहभागीहरूले भने, “हामीलाई अब नयाँ संरचनाभन्दा भएकाको सही व्यवस्थापन चाहिएको छ ।”
विशेषगरी थापाथलीदेखि बबरमहलसम्मको सवारी चाप, सडक पेटीको व्यापार र अव्यवस्थित पार्किङले पैदल यात्रीलाई असुरक्षित बनाएको विषयमा स्थानीयले वडाको ध्यानाकर्षण गराए । “सडकका खाल्टा पुरेपछि देखिने दाग सहरकै दाग हो, खाल्टा नै नहुने प्रणाली चाहियो,” सहभागीले सुझाव दिए ।
सुरक्षा र सामाजिक चुनौती
स्थानीयले सहरी सुरक्षाका विषयमा पनि गम्भीर प्रश्न उठाएका छन् । बिजुली बजारको पुलमुनि हुने लागू औषध दुर्व्यसनीहरूको जमघट र रातको समयमा हुने उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न माग गरिएको छ । यसबारे जवाफ दिँदै सिंहदरवार प्रहरी वृत्तका डीएसपी जनार्दन घिमिरेले सुरक्षामा प्रहरी जिम्मेवार रहेको र यस्ता गतिविधि देखेमा तत्काल १०० नम्बरमा फोन गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा उपस्थित बागमती प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठले स्थानीय विकासमा वडासँग मिलेर काम गर्न र प्रदेशको बजेटलाई एकीकृत गरी प्रभावकारी बनाउन आफू तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
वडाको प्रगति र भावी योजना
वडा सचिव धर्मराज भट्टराईले वडाको रिपोर्ट कार्ड प्रस्तुत गर्दै चालु आर्थिक वर्षका २९ योजनामध्ये १३ वटा सम्पन्न भइसकेको र बाँकी कार्यान्वयनको चरणमा रहेको जानकारी दिनुभयो । वडाले नागरिकको पहुँच सहज बनाउन १.७४ वर्ग किलोमिटर क्षेत्रलाई ४ भागमा विभाजन गरी वडा सदस्यहरूलाई जिम्मेवारी तोकेको छ ।
आगामी वर्षका लागि टुकुचा खोला सुधार र विश्वनिकेतन विद्यालय पछाडिको खुला ठाउँलाई खेल मैदान बनाउने जस्ता योजनाहरूलाई प्राथमिकता दिइने वडाले जनाएको छ । सार्वजनिक सुनुवाइमा सुकुम्बासीको आक्रोश, विकास व्यवस्थापनको माग र सुरक्षा संवेदनशीलता बीच जनप्रतिनिधिले जनताको ‘सामूहिक एकता’ भए तत्काल नतिजा दिने प्रतिबद्धताका साथ कार्यक्रम समापन गरेका थिए ।