नेतृत्वले ‘खाए खा नखाए घीच’ भन्ने शैली देखाएपछि मन्त्री पद खाइन—प्रभु शाह ,सांसद, नेकपा माओवादी (केन्द्र)

prabhu-shah

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रवादी काम गरिरहेका बेला सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले हठात् जोडबल लगाएर ओली नेतृत्वको सरकार ढालेपछि सर्वत्र आलोचना भयो । अहिले पनि नेपाली कांग्रेससँग मिलेर प्रचण्ड प्रधानमन्त्री निर्वाचित भए पनि उहाँको कार्यशैली संविधान कार्यान्वयन गर्नेतर्फ भन्दा पनि कसरी आफू प्रधानमन्त्री पदमा टिकिरहने भन्नेतर्फ बढी केन्द्रित भएपछि पार्टी बाहिर मात्र होइन पार्टी भित्र पनि आलोचित बन्नुभएको छ । प्रधानमन्त्री निर्वाचित भएको करिब दुई हप्ता वितिसक्दा प्रचण्डले तीन पटक मन्त्रीमण्डल विस्तार गर्नुभएको छ । पहिलो पटक नेपाली कांग्रेसका तीन र आफ्नो तर्फका तीन गरी छ जना मन्त्री नियुक्त गरेका प्रचण्डले बीचमा फेरि तीन मन्त्री नियुक्त गर्नुभयो । प्रमुख सत्ता साझेदार दलले अझै मन्त्रीको सूची पठाउन नसकिरहेका बेला प्रचण्डले आइतबार आफ्नो भागमा परेका पाँच मन्त्री र चार राज्यमन्त्री नियुक्त गर्नुभयो । तर, प्रचण्डले मन्त्री नियुक्त गर्दा पार्टी भित्र कुनै सन्तुलन नमिलाएको भन्दै तिव्र आलोचना भएको छ । पाँच मन्त्रीमा प्रचण्डले चार जना क्षेत्री–बाहुन नै नियुक्त गरेपछि उहाँको झन् आलोचना भएको छ । पाँच मन्त्रीमा उहाँले एक जना मात्र मधेसी नेता नियुक्त गर्नुभयो, अजयशंकर नायक । तर, नायकलाई नियुक्त गर्दा पनि उनले पार्टी भित्रका मधेसवादी नेताको चित्त बुझाउन सकेनन् । तराई–मधेसमा निकै राम्रो प्रभाव बनाएका नेकपा माओवादीका नेता प्रभु साहलाई नै छुटाएपछि अहिले प्रचण्डको निकै आलोचना भएको छ । साह आफैले पनि प्रचण्डले मधेसवादी नेतालाई अपमान गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । त्यसो त महिलाको प्रतिनिधित्व नभएको भन्दै पार्टी भित्रका महिलाले पनि प्रचण्डको आलोचना गरेका छन् । मन्त्री बन्ने चर्चा भएर पनि अन्तिममा मन्त्री बन्नबाट बञ्चित प्रभु साहले नेतृत्वप्रति मैत्री न्युज डटकमसँग यसरी आक्रोश व्यक्त गर्नुभयो :

तपाईँको त मन्त्री पक्का जस्तै भएको थियो, अन्तिम समयमा आएर रोकियो नि ?

मन्त्री पद पाउने–नपाउने कुरा ठूलो होइन । म पहिला पनि मन्त्री भएको व्यक्ति हुँ । तर, अन्तिम समयमा आएर जुन तरिकाले पार्टी नेतृत्ववाटै अपमान गर्ने काम भयो, यसबाट भने चिन्ता लागेको छ । मलाई नेतृत्वले ‘खाए खा नखाए घीच’ भन्ने ढंगले मैले नरोजेको र नरुचाएको मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेपछि मैले नै खान्न भनेको हो । मैले नै कानुन मन्त्री नबन्ने अडान लिएपछि अर्का सांसद अजयशंकर नायकलाई यो जिम्मेवारी दिने निर्णय भएको हो ।
कांग्रेस–माओवादीले केपी ओली नेतृत्वको सरकार ढाल्दा धेरै आलोचना भएको थियो । त्यस्तो अवस्थामा कांग्रेस–माओवादीका नेताहरुले देशलाई कसरी निकास दिने भन्ने सोँचसहित ओली सरकार ढालेको प्रतिक्रिया दिनुभएको थियो । तर, अहिले नेतृत्वको मन्त्री छनोट गर्ने शैली हेर्दा समस्या समाधन गर्ने होइन बल्झाउनेतिर केन्द्रित भएको जस्तो देखिएको छ । मन्त्री छनोट गर्दा समीकरण मिलाएर गर्नुपर्ने थियो । यो सन्दर्भमा नेतृत्व च्युत भएको मैले महशुस गरेको छु ।

ए भनेपछि प्रचण्ड नेतृत्वको सरकार ‘पहिलो गासमै झिँगा’ भने जस्तो भयो भन्ने बुझ्नु पर्यो होइन त ?

मन्त्री छनोट गर्ने कुराले नै सबै कुरा विग्रियो भन्न त नमिल्ला तर, यो राम्रो लक्षण चाँहि अवश्य पनि भएन । म अहिले संसदको अन्तराष्ट्रिय सम्वन्ध तथा श्रम समितिको सभापति छु । मलाई मैले नरुचाएको मन्त्रालय भन्दा यहि समभापतिको पद ठूलो ठानेको छु । मलाई रुची नै नभएको मन्त्रालयको जिम्मेवारी दिन खोज्नु भनेको एक हिसावले अपमान जस्तो पनि हो । त्यसैले त्यो स्वीकार गरिन् ।

अहिले त ठूला दलहरु मधेसी नेताहरुलाई अपमान गरेका छन् । अधिकारबाट पनि बञ्चित गरेका छन् भन्ने ‘सेन्टिमेण्ट’ छ । यस्तो अवस्थामा तपाईँलाई नै यस्तो असन्तुष्ट बनाउनु भनेको त, मधेस कै अपमान भयो नि होइन ?

मैले मधेसको मात्र अपमान ठानेको छैन । हामीले निष्ठापूर्वक आन्दोलन गरेको भनेको राज्यका हरेक तहमा समानुपातिक प्रतिनिधित्व होस् । महिला दलित, मधेसी सबैले अधिकार प्राप्त गर्न सकुन भनेर नै हो । तर, अहिले पार्टी नेतृत्वले जुन खालको कार्यशैली देखाएको छ । यसले सबै तह र समूदायलाई चिन्तित बनाएको छ । मैले अघि पनि भने । यो राम्रो संकेत होइन । अहिले तराई–मधेस, आदिवासी, जनजाति, महिला सबैको प्रतिनिधित्व हुने गरी पार्टी नेतृत्वले मन्त्री छनोट गरेको भए केही हदसम्म नेतृत्वप्रति देखिएको नकरात्मक धारणामा केही सुधार आउन सक्थ्यो । नेतृत्वको यो शैलीले त झन् समस्या सिर्जना गरेको अनुभूति भएको छ ।

भनेपछि त अब संविधान कार्यान्वयनमै समस्या हुने संकेत देखियो नि होइन ?

मैले अघि पनि भने मन्त्री छनोटमै नेतृत्वले सन्तुलन मिलाउन सकेन भनेर संविधान कार्यान्वयन नै हुँदैन भनेर भन्नु त्यति उचित नहोला । तर, यसले राम्रो संकेत चाँहि अवश्य पनि गरेको छैन । म मात्र होइन अहिले मन्त्री छनोटप्रति माओवादीका महिला, आदिवासी सबै असन्तुष्ट भएका छन् । यहि शैलीले नेतृत्व अघि बढ्ने हो भने हामीले कसरी पार्टी नेतृत्वप्रति विश्वास गर्न सक्छौँ । नेतृत्वले त सबैलाई मिलाएर लैजाने हो । सबैलाई असन्तुष्ट बनाएर त कसरी अघि बढन् सकिन्छ र ? मैले पार्टीमा बसेर निकै ठूलो योगदान गरेको छु । माओवादीप्रति मधेसको सेन्टिमेण्ट नकारात्मक नबनोस् भन्नका लागि मैले निकै ठूलो मेहनत पनि गरेको छु । तर, मन्त्री छनोट प्रक्रियामा नेतृत्वले देखाएको हेला–होचो शैलीले मेरो मात्र होइन माओवादीमै रहेका मधेसी नेताको पनि चित्त दुखेको छ । यो कुराको महशुस नेतृत्वलाई होस् भन्ने मेरो कामना छ ।

पार्टीभित्र समेत सन्तुलन मिलाउन नसक्ने नेतृत्वले सबैको चित्त बुझाएर संविधान कार्यान्वयन गर्ला भन्ने कुरा त अब मृगमरिचीको कथा जस्तै हुने भयो नि होइन ?

सबैको अपनत्व संविधानमा होस् भन्ने हामी सबैले चाहेका छौँ । संविधानप्रति असन्तुष्ट दललाई समेत सहमतिमा ल्याएर अघि बढनु पर्ने अर्को गहन जिम्मेवारी हाम्रो काँधमा छ । व्यवस्थापिका संसद्को दोस्रो ठूलो दल एमाले सरकार बाहिर छ । मधेसवादी दलहरुले पनि अहिले विभिन्न खालका मागहरु राख्दै आएका छन् । उनीहरुका समेत माग सम्वोधन गरेर सबैको अपनत्व हुने गरी संविधान कार्यान्वयन गर्न सकेको अवस्थामा मात्र हामीले हाम्रो शीर उच्च गर्न सक्छौँ । त्यसका लागि सबै दलहरुले केही त्याग पनि गर्नुपर्ने हुनसक्छ । सबैलाई मिलाएर लैजाने कुरामा सबै भन्दा बढी सकारात्मक भूमिका कार्यकारी प्रमुख भएको हैसियतमा प्रधानमन्त्रीले खेल्नु पर्ने हुन्छ । तर, आफ्नो पार्टीका नेता–कार्यकर्तालाई नै सन्तुष्ट बनाउन नसक्ने नेताले अरु सबैको भावनाको प्रतिनिधित्व कसरी गर्न संभव होला । अहिले धेरैको मनमा यो कुरा खेलिरहेको छ । म अझै पनि हाम्रो पार्टी अध्यक्षलाई आग्रह गर्न चाहन्छु । तपाईँले ठूलो दिलले काम गर्न सक्नुपर्छ । कसैलाई लाखा र कसैलाई पाखा गरियो भने त्यसको परिणाम गलत पनि आउन सक्छ । त्यसैले प्रधानमन्त्री हुनु मात्र ठूलो कुरा होइन । देश बनाउने कुरा ठूलो हो । प्रधानमन्त्री पदका लागि मात्रै भन्दा पनि देशका लागि पनि सोच्नु होला मेरो आग्रह छ । प्रचण्डले प्रधानमन्त्री बन्नका लागि मात्र ओली नेतृत्वको सरकार ढालेको हो भन्ने खराव सन्देश गएको छ । त्यो चिर्नेगरी अघि बढ्नु होला त्यो भयो भने मात्र तपाईँ र पार्टी पनि सफल हुन्छ । नभए पार्टी र व्यक्ति दुबै असफल हुने खतरा हुनसक्छ ।