दमौली बजारका अवैध संरचना ३५ दिनभित्र हटाउन व्यास नगरपालिकाको निर्देशन
काठमाडौँ, जेठ २५ । तनहुँको व्यास नगरपालिकाले दमौली बजार क्षेत्रका सडक र सडकपेटी मिचेर बनाइएका अवैध संरचना हटाउन ३५ दिने अल्टिमेटम दिएको छ । नगरपालिकाले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै सडकको अधिकार क्षेत्र र सडकपेटी अवरुद्ध हुने गरी निर्माण गरिएका पक्की संरचना, वरन्डा तथा टिनका टहराहरू हटाउन सम्बन्धित घरधनीहरूलाई आग्रह गरेको हो ।
गत जेठ २२ गते बसेको व्यास नगर कार्यपालिकाको २३८औँ बैठकले बजार क्षेत्रको आवागमनलाई सहज बनाउन र सार्वजनिक जग्गाको संरक्षण गर्न अतिक्रमण गरी बनाइएका संरचना हटाउने निर्णय गरेको थियो । सोही निर्णयको कार्यान्वयनका लागि नगरपालिकाले आज ३५ दिने सार्वजनिक सूचना जारी गरेको जनाएको छ ।
सूचनामा उल्लेख भएअनुसार, सडक अतिक्रमण गरी बनाइएका संरचनाका कारण सर्वसाधारणको आवागमन र सार्वजनिक उपयोगमा गम्भीर समस्या उत्पन्न भएको छ । नगरपालिकाले तोकेको ३५ दिनको अवधिभित्र सम्बन्धित घरधनीले आफ्नै पहलमा ती संरचना नहटाएमा प्रचलित कानुनबमोजिम नगरपालिका आफैँले हटाउने चेतावनी दिइएको छ ।
नगरपालिकाका इन्जिनियर अमृत केसीद्वारा जारी सूचनामा सार्वजनिक हित र व्यवस्थित सडक व्यवस्थापनका लागि यो कदम चालिएको उल्लेख गर्दै नगरवासी तथा सरोकारवाला पक्षबाट पूर्ण सहयोगको अपेक्षा गरिएको छ । सार्वजनिक र सरकारी जग्गाको संरक्षण गर्नु सम्पूर्ण नगरवासीको साझा दायित्व भएको समेत नगरपालिकाले स्मरण गराएको छ ।