ओमानको समुद्री तटमा ट्याङ्करमा भीषण आगलागी, २४ भारतीयको सकुशल उद्धार
एजेन्सी, २५ जेठा । ओमानको समुद्री तटमा आगलागी भएको एउटा व्यापारिक ट्याङ्करबाट भारतीय नौसेनाले २४ जना चालक दलका सदस्यको सफलतापूर्वक उद्धार गरेको छ। सोमबार दिउँसो भएको उक्त घटनामा ‘एमटी मारिभेक्स’ नामक ट्याङ्करमा आगलागी भएको थियो।
भारतको बन्दरगाह, ढुवानी तथा जलमार्ग मन्त्रालयका अनुसार पलाउको झण्डा रहेको उक्त जहाजमा दिउँसो १ः३० बजे आगलागी सुरु भएको थियो। आगलागी लगत्तै भारतीय नौसेनाको हेलिकप्टर प्रयोग गरी जहाजमा रहेका सबै २४ जना भारतीय नागरिकलाई सुरक्षित बाहिर निकालिएको हो।
मन्त्रालयका निर्देशक ओपेशकुमार शर्माले उद्धार गरिएका सबै भारतीय नागरिकहरू सकुशल रहेको जानकारी दिएका छन्। “एमटी मारिभेक्स ट्याङ्करमा आगलागी भएको खबरलगत्तै भारतीय नौसैनिक हेलिकप्टरले चालक दलका सदस्यहरूलाई उद्धार गरेको हो,” उनले भने। ‘फरवार्ड सिमेन्स युनियन अफ इन्डिया’ ले सार्वजनिक गरेको तस्बिरहरूमा हेलिकप्टरमार्फत जहाजबाट मानिसहरूलाई बाहिर निकालिएको देखिन्छ।
‘मरिन ट्राफिक’ का अनुसार आगलागी भएको ट्याङ्कर ओमानको राजधानी मस्कटको दक्षिणतर्फको समुद्री क्षेत्रमा रहेको थियो। आगलागीको स्पष्ट कारण भने अझै खुलेको छैन र जहाजमा भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ।
पछिल्लो समय इरान, अमेरिका र इजरायलबीचको तनावका कारण ‘स्ट्रेट अफ हर्मुज’ क्षेत्रमा जहाजहरूको आवागमन प्रभावित भइरहेको छ। विश्वको कुल तेल र ग्यास ढुवानीको ठूलो हिस्सा यही जलमार्ग हुँदै जाने गर्दछ।