नियमविपरीत अत्यधिक बिदा दिएको आरोपमा सल्यान र जाजरकोटका सशस्त्र प्रहरीका कमाण्डर हेडक्वार्टर तानिए

काठमाडौँ, २५ जेठ । सशस्त्र प्रहरी बल नेपालले संगठनात्मक अनुशासन उल्लंघन गरेको आरोपमा सल्यान र जाजरकोटका गुल्म कमाण्डर (गुल्मपति) लाई जिम्मेवारीबाट फिर्ता बोलाएको छ । मातहतका कर्मचारीलाई अस्वाभाविक रूपमा अत्यधिक बिदा स्वीकृत गरेको पाइएपछि उनीहरूलाई कमाण्डबाट हटाइएको हो ।

सशस्त्र प्रहरी बलका प्रवक्ता तथा नायब महानिरीक्षक (डीआईजी) विष्णुप्रसाद भट्टका अनुसार ती दुई जिल्लाका गुल्ममा कार्यरत सशस्त्र प्रहरी कर्मचारीलाई नियमविपरीत धेरै संख्यामा बिदा दिइएको उजुरी सशस्त्र प्रहरी महानिरीक्षकको कार्यालयमा परेको थियो ।

उजुरी परेलगतै सशस्त्र प्रहरी प्रधान कार्यालयले वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्वमा एक उच्चस्तरीय छानबिन टोली खटाएको थियो । उक्त टोलीले स्थलगत अध्ययन गरी बुझाएको प्रतिवेदनमा कमाण्डरहरूले ‘चेन अफ कमाण्ड’ र संगठनात्मक अनुशासनमा गम्भीर कमजोरी देखाएको निष्कर्ष निकालिएको छ ।

सोही प्रतिवेदनका आधारमा सल्यान र जाजरकोटका गुल्मपति रहेका डीएसपीहरूलाई तत्काल जिम्मेवारीबाट मुक्त गरी प्रधान कार्यालयस्थित कानुन निर्देशनालयमा हाजिर हुन निर्देशन दिइएको छ ।

कमाण्डरहरूलाई फिर्ता मात्र नबोलाई उनीहरूमाथि विभागीय कारबाहीको प्रक्रियासमेत अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ । “संगठनको नीति र अनुशासनविपरीत कार्य गर्ने जोसुकैलाई पनि छुट दिइँदैन,” प्रवक्ता भट्टले भने ।

प्रधान कार्यालयले ती दुई रिक्त स्थानमा तत्कालै नयाँ कमाण्डर खटाउने तयारी गरेको छ । पछिल्लो समय सशस्त्र प्रहरीले संगठनभित्रको अनुशासन र कार्यसम्पादनलाई कडाइका साथ निगरानी गरिरहेको छ ।